कहाँ छ अख्तियार ? कहाँ छ सम्पत्ति शुद्धिकरण विभाग ?

Logo
रंजित चौरसिया प्रकाशित शुक्रबार, साउन २६, २०८०

२३१९  पटक हेरिएको

वीरगंज। भ्रष्टाचारको मामिलामा गन्हाईसकेका पर्सागढी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव र वर्तमान लेखा अधिकृत श्याम नारायण भगत मालीले लाखौं लाख भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण विभाग लगायतका अन्य नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउंदा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् ।

भ्रष्टाचार सन्दर्भमा सुक्ष्म अनुभव बटुलेका अधिकृत यादव र मालीले कमिशनको सेटिङ्गमा आर्थिक वर्ष २०७८/०७९ को सामग्री खरिदमा १६ लाख ४६ हजार ७ सय ७१ रुपैया हिनामिना गरेको पाईएको छ । मलेपको प्रतिवेदनको क्रम सं. १६.८ मा नगरपालिकाले विद्यालयहरुको लागि सेनिटाईजर, व्याग र स्वास्थ्य चौकीको लागि स्वास्थ्य उपकरण खरिद गरी विभिन्न आपुर्तिकर्ताहरुलाई १६,४६,७७१ रुपैया भुक्तानी गरेको उल्लेख छ । सम्बन्धित सेवाग्रहीहरुलाई वितरण तथा हस्तान्तरण नगरेकोले पनि भ्रष्टाचार भएको पुष्टि हुन्छ । सामग्रीहरु PAMS मा दाखिला गरी सोही प्रणालीबाट हस्तान्तरण गरी विद्यालय सामग्री सम्बन्धित विद्यार्थीहरुलाई वितरण गरेको प्रमाणित भरपाई र स्वास्थ्य सामग्री सम्बन्धित स्वास्थ्य चौकीको जिन्सी खातामा दाखिला गरेको प्रमाण पेश नगरेकोले पनि भ्रष्टाचार भएको घाम जस्तै छर्लङ्ग देखिन्छ ।

भ्रष्ट अधिकृत यादव र मालीको मिलोमतोमा विद्यालयहरुको लागि सेनिटारईजर खरिद १ लाख ५४ हजार ४१ रुपैया, स्कूल व्याग लगायत अन्य सामग्रीहरु खरिदमा ९ लाख ९४ हजार ४ सय र गढीमाई जनरल सप्लायर्सबाट मेडिकल औजार खरिदमा ४ लाख ९८ हजार ३ सय ३० गरी जम्मा १६,४६,७७१ रुपैयाको सामग्रीहरु खरिद गरेको भुक्तानी गरिए पनि सो सामानहरु कहीं कतै वितरण नभएको र स्वास्थ्य चौकीको जिन्सीमा दाखिला नरहेको पाईएको छ । पर्सागढी नगरपालिकाका एक कर्मचारीका अनुसार अधिकृत यादव र मालीले बिल मात्र मगाई भुक्तानी देखाई उनीहरु सो रकम आफै दम्पच गरेको बताए । यो शिर्षक भ्रष्ट अधिकृत यादव र मालीको लागि उदाहरण मात्र हुन् ।

यस्ता काण्डहरु दर्जनौं भएको समाचार स्रोतले जनाएको छ । मलेपको प्रतिवेदनले सो रकम बेरुजु कायम गरेपछि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८४(२)(घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृत कै हुने व्यवस्था छ । ऐन अनुसार जिम्मेवार व्यक्तिको कारण हिनामिना वा हानि–नोक्सानी भएको रकम किटान गरिएको व्यवहोरालाई असुल गर्नुपर्ने बेरुजूमा वर्गीकरण गरिएको छ । तत्कालिन अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत्त रहदां भ्रष्टाचारकै मामिलामा निलम्बनमा परेका व्यक्ति हुन ।
बारा जिल्लाको पचरौता नगरपालिका वडा नं. १ पिपरपाती निवासी अधिकृत यादवले भ्रष्टाचारको कमाईबाट अकुत सम्पत्ति जोडन सफल भएको बताईन्छ । उनले कलैयाको मेनरोड मोतिबाग चौकमा आफ्नै भवनमा कलेज सञ्चालन गरेका छन् भने चन्द्रनिगाहपुरमा सुजुकीको सोरुम पनि सञ्चालनमा ल्याएका छन् । भ्रष्ट अधिकृत यादवले करिब तीन वर्ष अगाडि पिपरपाती गाउंमा करिब डेढ बिगहामा रहेको फुलबारी करिब ६५ लाखमा र पिपरपाती चौकमा करिब एक महिना अगाडि २ कठ्ठा जमिन २२ लाखमा किनेको स्रोतले जनाएको छ । उनले यतिमात्र कहां हो र ? काठमाडौंमा १ किता, हेटौडामा २ किता, सिमरामा २ किता र वीरगंजमा २ किता घडेरीहरु भ्रष्टाचारको कमाईबाट किन्न सफल भएको बताईन्छ ।

उनको ३ वटा छोराहरु रहेका छन् भने एक जना अष्ट्रेलिया, एक जना भारतको पञ्जाब र एक जना काठमाडौंमा अध्ययन गरिरहेको स्रोतको कथन रहेको छ । हाल उनी कोल्हवी नगरपालिका बारामा कार्यरत्त रहेका छन् । अर्का भ्रष्ट लेखा अधिकृत मालीले आफ्नै नातामा पर्ने भान्जा दिपक भण्डारीलाई करारमा सुपरभाईजर पदमा भर्ना गराई लेखा शाखाको जिम्मेवारी दिई मामा र भान्जा मिली सो नगरपालिकामा हालसम्म लुटतंन्त्र मच्चाएको स्थानियबासीको आरोप रहेको छ । मालीले पनि वीरगंज र सिमरामा करिब आधा दर्जन घडेरीहरु किनेको स्रोतको कथन रहेको छ ।

हाल उनी पर्सागढी नगरपालिका र कोष तथा लेखा नियन्त्रण कार्यालय पर्सा वीरगंजमा कार्यरत्त रहेका छन् । तत्कालिन अधिकृत यादव र वर्तमान लेखा अधिकृत मालीले कयौं घडेरीहरु आ–आफ्ना आफन्तको नाममा राखेको स्रोतको कथन रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!