१४४९ पटक हेरिएको
विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीहरुलाई सम्मान गर्दै खेल खेलेर बाँच्ने र गौरव गर्न सक्ने अवस्था अझै बन्न नसकेको बताएका छन् । प्रदेश सरकार र प्रदेश खेलकुद बोर्डले खेलाडीहरुलाई देशको गौरव बनाउन प्रयत्न गरिरहेको उनले बताए ।
सोलुखुम्बु र उदयपुर बराबरीमा
सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबरी खेल्दै १–१ अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ ।
महिला आत्मरक्षा तालिम सम्पन्न
त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डले विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरी झापाको दमकस्थित हिमालय माविमा ३ दिने ‘महिला सेल्फ डिफेन्स’ आत्मरक्षा तालिम सम्पन्न गरेको छ । पछिल्लो समय महिलाहरुमाथि हिंसा बढेकोले खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने बनाउन तालिम आयोजना गरिएको हो । विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ३५ जना छात्राले तालिममा सहभागिता जनाएका थिए । यो अभियान अन्य जिल्लामा पनि सञ्चालन गरिने बोर्डले जनाएको छ ।