१६८४ पटक हेरिएको
बिराटनगर ।मारुति मिडिया प्रा.ली मोरङको आयोजना तथा बुढिगंगा गाउँपालिकाको आर्थिक सहयोगमा २०८१ असार १३ गतेदेखि असार १७ गतेसम्म पाँच दिने उद्घोषण तथा भाषण कला तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम हिजो बुढिगंगा गाउँपालिका वडा नं. ४ को सभाहलमा आयोजित गरिएको थियो। तालिममा बुढिगंगा गाउँपालिकाका ३० जना युवायुवती तथा केही जनप्रतिनिधिहरुको सहभागिता थियो। सहभागीहरुलाई मकालु टेलिभिजनका मिनकुमार श्रेष्ठ र एभिन्युज टेलिभिजनका वीरेन्द्रकुमार साहले पाँच दिनसम्म प्रशिक्षण दिएका थिए। समापन समारोहका प्रमुख अतिथि बुढिगंगा गाउँपालिकाकी उपप्रमुख अमृता कुमारी गच्छदारले तालिमको महत्त्व र यसको प्रभावबारे सम्बोधन गर्दै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिन्।
बिशिस्ट अतिथिको रुपमा वडा नं. ४ का अध्यक्ष शसिकान्त चौधरी, वडासदस्यहरु मिना विश्वस र मिथिला आचार्य लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। तालिमले स्थानीय युवाहरुमा उद्घोषण तथा भाषण कला सम्बन्धी ज्ञान र कौशल बढाउने उद्देश्य राखेको थियो। सहभागीहरुले तालिमको अनुभव साझा गर्दै आफूलाई यसले आत्मविश्वास वृद्धि गर्नमा मद्दत गरेको बताए। मारुति मिडिया प्रा.ली मोरङका प्रतिनिधिहरुले तालिमको सफलतापूर्वक सम्पन्नतामा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए।
बुढिगंगा गाउपालिकाकि उपप्रमुख गच्छदारले स्थानीय तहको सहयोगमा यस्ता कार्यक्रमले गाउँपालिकाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। तालिमको समापन कार्यक्रममा सहभागीहरुले प्रस्तुतीकरण गर्दै आफूले सिकेका कुराहरु प्रदर्शन गरे, जसले कार्यक्रमलाई थप रोचक बनाएको थियो। यस प्रकारको तालिमले युवाहरुमा नेतृत्वदायी क्षमताको विकास गर्दै सामाजिक र सामुदायिक कार्यहरुमा सक्रियताका साथ सहभागी गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।