२६५७ पटक हेरिएको
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुदले राष्ट्रिय एवं सामाजिक एकतालाई बलियो बनाउने बताउनु भएको छ । कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता –२०८१ को आज उद्घाटन गर्दै उहाँले खेलकुदको माध्यमबाट मुलुकको नाम विश्वमा राख्न सकिने र सामाजिक एकता पनि बलियो बनाउन सकिने भएकोले अनुशासित एवं स्वस्थ्य प्रतिस्पर्धामा उभिएर खेलाडीहरुलाई खेल खेल्न आग्रह गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका गहना भएको बताउनु हुँदै खेलवाट खेलाडीहरुको मानसिक एवं शारीरिक तन्दुरुस्तीमा बल पु¥याउने विचार राख्नु भयो । उहाँले विराटनगर आसपास क्षेत्रमा जुनसुकै मौसममा पनि भलिवल खेल लगायत अन्य इन्डोर खेलका लागि कभर्ड हल निर्माण गर्न सामाजिक विकास मन्त्रालयलाई तयारीमा लाग्न निर्देशन दिनु भयो ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सरकारले खेलकुदका पूर्वाधार, प्रशिक्षण र खेलाडीहरुको क्षमता वृद्धिका लागि विशेष ध्यान दिने बताउनु भयो । प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव कृष्ण बस्नेतले १० औं राष्ट्रिय खेलकुदका उत्कृष्ट प्रदर्शन गर्ने तयारीस्वरुप प्रदेशका विभिन्न जिल्लामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको बताउनु भयो । महिला भलिबल प्रतियोगितामा कोशी, वागमती, मधेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।