१७३३ पटक हेरिएको
कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपिलवस्तुले पुष्पलाल स्मृति दिवसको अवसरमा कृष्णनगर नगरपालिकाको बहादुरगंजमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा एमाले कपिलवस्तुका अध्यक्ष बाबूराम खनालको अध्यक्षता, केंद्रीय कमिटी सदस्य गिरधारीलाल न्यौपानेको प्रमुख अतिथित्व र प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्व बन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीको विशिष्ट अतिथित्व रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले वृक्षारोपणले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो, “विरुवाबाट स्थानीय बासिन्दाहरूलाई फाइदा हुन्छ। यसले सुन्दर फलफूल खान पाइन्छ र मानव जीवनलाई अति आवश्यक पर्ने अक्सिजनको खानीको रूपमा रहेको बोट विरुवाहरूलाई नै चिनिन्छ।”
नेकपा एमाले कृष्णनगर कमिटीका इन्चार्ज शिव प्रसाद जयसवालले वृक्षारोपण गरिएका विरुवाहरूलाई आफू र स्थानीय बासिन्दाहरू मिलेर संरक्षण गर्ने बताउनुभयो। कार्यक्रममा स्थानीय अगुवा नेता, व्यापार संघ कपिलवस्तुका अध्यक्ष, पूर्व जिल्ला अध्यक्ष, नेताहरु र स्थानीय बासिन्दाहरूको उपस्थिति थियो।