विराटनगरमा डेंगु नियन्त्रण अभियान तीव्र

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, साउन २१, २०८१

११६८  पटक हेरिएको

विराटनगर ।बर्खायामसँगै देशभर डेंगु संक्रमणको जोखिम बढिरहेका बेला विराटनगर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि विभिन्न प्रयास गरिरहेको छ। महानगरले पछिल्लो ६ महिनामा २६३२ जनाको डेंगु परीक्षण गरेकोमा ४८ जनामा मात्र संक्रमण पुष्टि भएको जनाएको छ।

महानगरपालिकाका मेयर नागेश कोइरालाले डेंगु नियन्त्रणका लागि विशेष अभियान चलाइएको बताउँदै सफाइमा सबैको सहयोग आवश्यक रहेको बताए। उनले लार्भा नष्ट गर्ने, पानी जम्न नदिने, झाडी पन्छाउने जस्ता काममा सबैलाई सहयोग गर्न अपिल गरे।

स्वास्थ्य शाखाका संयोजक दिलिप यादवले महानगरका विभिन्न स्थानमा गएर डेंगु खोज र नष्ट अभियान चलाइरहेको बताए। रानी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मानिक चन्द भगतले डेंगुका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न र आफू बस्ने वरपरको वातावरण सफा राख्न आग्रह गरेका छन्।

महानगरपालिकाले डेंगु नियन्त्रणका लागि जनचेतना फैलाउने, लार्भा नष्ट गर्ने अभियान, स्वास्थ्य शिविर, स्वास्थ्यकर्मीहरूको क्षमता विकास लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!