१३२१ पटक हेरिएको
रंगेली नगरपालिका-४ आमतोलाका १२ वर्षीय बालक देव हस्दाको उपचारका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। दुई महिनादेखि बिरामी परेका देवको उपचारका लागि आर्थिक अभाव भएपछि विभिन्न सञ्चार माध्यमबाट समाचार सार्वजनिक भएको थियो।
समाचार सार्वजनिक भएपछि एनआरएनए सेसेल्सका अध्यक्ष मनोज विक र महासचिव पंकज श्रेष्ठको पहलमा सेसेल्समा कार्यरत नेपालीहरूले ६० हजार १ सय रुपैयाँ सहयोग जुटाएर बालककी आमा पार्वती हस्दालाई हस्तान्तरण गरेका छन्। यस्तै, महासचिव श्रेष्ठकी श्रीमती रञ्जना श्रेष्ठले ६० हजार र स्थानीय शान्ता श्रेष्ठले ५ सय रुपैयाँ सहयोग गरेकी छन्।
आर्थिक अभावका कारण देवको उपचारमा निकै समस्या भएको छ। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका देवको उपचार खर्च धान्न नसकेपछि अस्पतालले उनलाई डिस्चार्ज गरेर घर पठाएको थियो। देवका बुबाआमाले हालसम्म ५ लाख रुपैयाँ खर्च गरिसकेका छन् तर पनि उनको स्वास्थ्यमा सुधार आएको छैन।
देश विदेशबाट सहयोग जुटे पनि देवको उपचारका लागि अझै रकमको आवश्यकता परेकोले आमाले पुनः सहयोगको अपिल गरेकी छन्। उनले नेपाल बैंकमा रहेको आफ्नो खाता नम्बर ०३१०११०७७३७६७७०००००१ मा सहयोग गर्न सबैमा अनुरोध गरेकी छन्।
आर्थिक अभावका कारण देवको परिवारलाई खाद्यान्नको समेत समस्या छ। केही दिन अगाडि स्थानीयहरूले खाद्यान्न सहयोग गरेका थिए। तर, हाल उनीहरूको घरमा चामलसमेत नभएको अवस्था छ। देवको परिवारलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले माथि उल्लेखित बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्। साथै, स्थानीय रूपमा पनि देवको परिवारलाई खाद्यान्न सहयोग गर्न सकिनेछ।