८६५ पटक हेरिएको
विराटनगर।विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधान संशोधन र सरकार सञ्चालन सात बुँदे सहमतिअनुसार नै हुने बताएका छन् । नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन्।
सात बुँदे सहमतिअनुसार नै यो सरकार बनेको भन्दै उनले आवश्यक विषयमा छलफल गर्न दुई दलीय संयन्त्र बनाइएको बताए । उनका अनुसार यो संयन्त्रले सरकारलाई सफल बनाउन र प्रभावकारी बनाउन सहयोग गर्नेछ।
सिंहले संविधान संशोधनका विषय पनि सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने बताए । उनले कांग्रेस-एमाले गठबन्धनको सरकार बनेपछि टीआरसी विधेयक अघि बढेको र संसदले बनाएको समितिको प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारबाही अघि बढेको बताए ।
अहिले केही पनि भएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै उनले ०४६ पछि विराटनगरमै भएको परिवर्तन हेर्न आग्रह गरे । उनले सरकारले नागरिकको चाहना पूरा गर्ने गरी काम गरिरहेको र परिणाम आउन केही समय लाग्ने पनि बताए।
नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले नेपालमा प्रत्यक्ष राष्ट्रपति निर्वाचन प्रणालीको आवश्यकता नरहेको बताएका छन्। उनले अहिले हामीले संघीय शासन प्रणालीलाई बलियो बनाउनुपर्ने बेला भएकोले प्रत्यक्ष राष्ट्रपति निर्वाचनको विषयमा अहिले नै बहस गर्नु उचित नहुने बताए।
पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली, कांग्रेस नेता फुलकुमार लालवानी, सूचना तथा सञ्चार विभाग प्रमुख विरेन्द्र कुमार शाह र जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साह पनि सहभागी थिए।