धानबाली भित्र्याउन कृषक व्यस्त

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

७७६  पटक हेरिएको

मोरङ।चाडपर्व सकिएसँगै पूर्वी नेपालका रंगेली, सुनवर्सी, रतुवामाई, धनपालथानलगायतका सिमावर्ती क्षेत्रका किसानहरू धान भित्र्याउने काममा व्यस्त बनेका छन्। यस वर्ष समयमा वर्षा भएको र भित्र्याउने बेलामा पनि मौसम अनुकूल भएकाले किसानहरू उत्साहित छन्।

रंगेली–७ का उगनलाल मण्डलका अनुसार यस वर्षको मौसम अनुकूल भएकाले धान बाली भित्र्याउन सजिलो भएको छ। अब छिट्टै गहुँ र मकै लगाउनुपर्ने भएकाले धान भित्र्याउन जनशक्ति परिचालन गरिएको छ। गाउँघरका अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले धान काट्ने मजदुरको अभाव भएको उनले बताए।

मण्डलका अनुसार मेसिनले धान काट्दा छिटो भए पनि धान बिग्रने खतरा हुन्छ। त्यसैले धानलाई राम्रोसँग सुकाउन मजदुर लगाएर धान काट्ने गरिएको छ। उनले खेतीपाती गर्न मेहनत चाहिने भन्दै सरोकारवाला निकायले किसानलाई आवश्यक अनुदान र प्राविधिक सहयोग गर्नुपर्नेमा जोड दिए।

धान भित्र्याएपछि किसानहरूले तोरी, आलु, तरकारी, मकै र गहुँ लगाउने गर्छन्। धान वर्षभरिको खर्च जुटाउने मुख्य बाली हो। अहिले खेतमा आधुनिक मेसिन र मजदुरहरूले धान काट्दै गरेको दृश्य देख्न सकिन्छ। मेसिनले प्रतिघण्टा १ बिघा जमिनको धान काट्ने गर्छ र प्रतिघण्टा ६ हजार रुपैयाँ भाडा लिने गरिएको किसानहरूले बताए। मजदुरहरूले प्रति कठ्ठा ४ केजी धान दस्तुर लिने गर्छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!