रंगेली अस्पतालले ८० अंक प्राप्त गरी देशभरका अस्पतालहरूमा नमुनाको रूपमा स्थापित

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, मंसिर १८, २०८१

८३०  पटक हेरिएको

मोरङको रङ्गेली नगरपालिकाले सञ्चालन गरेको रङ्गेली अस्पतालले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। पछिल्लो मूल्यांकनमा पनि अस्पतालले ८० अंक प्राप्त गरी देशभरका अस्पतालहरूमा नमुनाको रूपमा स्थापित भएको छ।

न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूमा गरिएको मूल्यांकनमा अस्पतालले सुशासन, व्यवस्थापन, क्लिनिकल सेवा र अस्पताल सेवा लगायतका क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको हो। यसअघि पनि अस्पतालले यस्तै अंक प्राप्त गरेको थियो।

अस्पतालको सभाहलमा आयोजित एक कार्यक्रममा यो उपलब्धि सार्वजनिक गरिएको थियो। कार्यक्रममा बोल्दै मेयर दिलीप बगडियाले अस्पतालको यो सफलता सबैको सामूहिक प्रयासको परिणाम भएको बताए। उनले अस्पताललाई अझै व्यवस्थित र सुविधासम्पन्न बनाउन चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बसन्त कुमार साहले आगामी दिनमा अस्पतालले अझै राम्रो गर्ने विश्वास व्यक्त गरे। उनले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अझै मेहनत गर्न आग्रह गरे।

कार्यक्रममा क्षेत्रीय निर्देशक सुरेश महतो, स्वास्थ्य निर्देशनालयका प्रतिमा महतो, मदन भण्डारी अस्पतालका रवि कुमार साह, जनार्दन पाठक, अस्पतालका अध्यक्ष देवमणि कटुवाल, सदस्य अजिम आलम, पुष्करम काफ्ले लगायतको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!