१५०१ पटक हेरिएको
काठमाडौँ । राजनीतिक दलका नेताहरूले स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले फेरि पनि मूलधारका राजनीतिक दल र नेतृत्वप्रति नै जनताले भरोसा गरेको प्रतिक्रिया दिएका छन् । आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजा सार्वजनिक भएपछि रासससँगको कुराकानीमा उनीहरुले मतपरिणालाई लिएर आत्तिने, मात्तिने र हौसिने अवस्था नरहेको र जनतातर्फ फर्कनुपर्ने सन्देश दिएको बताए ।
सहर र तराई मधेसमा माओवादीको प्रगति: हितराज पाण्डे, प्रमुख सचेतक, नेकपा (माओवादी केन्द्र)
पार्टी नेतृत्वले बारम्बार जनतातर्फ फर्कनुपर्छ भनेर राख्दै आएको विचारलाई निर्वाचनको परिणामले पुष्टि गरेको छ । जति स्थानमा पार्टीका उम्मेदवार विजयी भएका छन्, त्यसले धेरै राम्रो सन्देश दिएको छ । जहाँ निकटतम प्रतिस्पर्धामा पुगेको अवस्था छ, यो खुसीको विषय हो ।
देश र जनतालाई गोलबन्द गरेर लैजान विचार र नेतृत्व नै मुख्य कुरा रहेछ भन्ने प्रमाणित भएको छ । निर्वाचनको परिणाम महत्त्वपूर्ण सङ्केतका रूपमा आएको छ । माओवादी पार्टी र नेतृत्वप्रति जनताको सकारात्मक भाव प्रकट भएको छ, यसलाई हामीले विगतमा भएका कमीकमजोरीलाई सच्याएर बढ्नुपर्छ भन्ने पनि देखिएको छ ।
उत्पीडित जनताको पक्षमा केन्द्रित हुनुपर्नेछ । सहरी र तराई मधेसका क्षेत्रमा पार्टीका विचार प्रवाह गर्न सकेका थिएनाँै, अहिलेको जनमतले त्यसतर्फ प्रगति भएको देखाएको छ । निर्वाचनले धेरै मात्तिनु र आत्तिनु पनि हुँदैन भन्ने सन्देश दिएको छ ।
मूलधारका दल र नेतृत्वप्रतिको भरोसा नवीकरण : महेश बर्तौला, मुख्य सचेतक, नेकपा (एमाले)
लोकतन्त्रमा जनताको अभिमतलाई सबैले स्वीकार गर्नुपर्छ । अहिलेको परिणामलाई एमालेले सहर्ष स्विकार्दै ग्रहण गरेको छ । निर्वाचन परिणामबाट आत्तिन, निराश र हौसन पर्ने परिस्थिति छैन । जनताले उम्मेदवारलाई हेरेर दलहरूका सम्बन्धमा पनि अदलबदल गर्न सक्छन् भन्ने परिणामबाट देखिएको छ ।
एउटा निर्वाचनलाई हेरेर त्यो स्थानमा त्यही दलको वर्चस्व रहन्छ भन्ने विषय परिणामले देखाएन । मूलधारका प्रमुख राजनीतिक शक्तिप्रति नै नागरिकको भरोसा देखाएको छ । जनताले समयक्रममा निर्णय फेरबदल गर्न सक्छन् है भन्ने देखाएको छ ।
नतिजा तीन दलकै पोल्टामा गएकाले भरोसा पनि यिनै दलप्रति छ भन्ने सन्देश आएको छ । यो परिणामले कसैलाई हौसाउने, कसैलाई निराश बनाउने गरेको छैन, आमरुपले मूलधारका राजनीतिक दल र नेतृत्वप्रति भरोसा रहेको कुराको नवीकरण गरेको छ ।
मतदाताको समर्थनलाई विश्वासमा परिणत गर्नुपर्छ: विश्वप्रकाश शर्मा, महामन्त्री, नेपाली कांग्रेस
उपनिर्वाचनमा मतदाताले व्यक्त गरेको मतमार्फत प्राप्त सन्देशको विस्तृत रूपमा पछि विश्लेषण र समग्र समीक्षा गरिनेछ । प्रारम्भिक समीक्षामा ‘एक्लै लडेर प्राप्त स्थान’ लाई सन्तोषजनक एवं उत्साहवद्र्धक सङ्केतका रूपमा लिएका छौँ ।
उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नागरिकको समर्थन र ऐक्यबद्धता फेरि एकपटक बलियो रूपमा प्रदर्शित भएको छ । मूलतः मुख्य दलहरूप्रति मतदाताले प्रकट गरेको समर्थनलाई विद्यमान प्रणालीमार्फत प्रगतिको दिशामा प्राप्त ऐक्यबद्धताका रूपमा लिएर तिनै तहका सरकारले काममा गति बढाउँदै नागरिक विश्वास अझ बलियो बनाउन जरुरी छ ।
लोकतन्त्रमा शतप्रतिशत स्थानमा जितको अपेक्षा लोकतान्त्रिक सोच हुन्न, तर जित र हार व्यहोरेका सबै स्थानको कारण र प्रवृत्तिको वस्तुगत समीक्षा आगामी चुनावी रणनीति निर्माणका लागि महत्त्वपूर्ण रहने निष्कर्ष छ ।
मतपरिणामले सङ्गठनको आवश्यकता खड्कियाे : मनिष झा, कार्यवाहक प्रवक्ता, राष्ट्रिय स्वतन्त्र पार्टी
राजनीतिक दल, दलको विचार, कार्यक्रम, अवस्था र परिस्थिति, उम्मेदवारको व्यक्तित्व, उम्मेदवारको एजेण्डा र व्यक्तिगत नाफाघाटाको सूचकका आधारमा उम्मेदवारलाई मतदाताले मूल्याङ्कन गरेर निर्णय गरेको पाइन्छ ।
राजनीतिक दलको स्थापना र सङ्गठनका आधारमा रास्वपा सुरुआती चरणमा छ । सङ्गठनको आवश्यकता निकै खड्केको देखियो । सहरी क्षेत्रका मतदाताले पार्टीलाई उत्साहित बनाए पनि दूरदराज र गाउँगाउँमा सङ्गठन बनाउनुपर्ने देखियो । चुनावका नतिजाले मतदाताबिचमा राजनीतिको स्पष्ट मार्गको कमी देखियो ।
कामदार वर्ग एक हुनुपर्छ: प्रेम सुवाल, नेता, नेपाल मजदुर किसान पार्टी
हाम्रो जस्तो मुलुकमा चुनाव एउटा वर्ग सङ्घर्ष जस्तै हो । स्थानीय तहको उपनिर्वाचनको मतपरिणामले कामदार वर्ग कमजोर जस्तो देखियो । त्यसकारण यो वर्ग एकजुट हुनुपर्छ ।