५०६ पटक हेरिएको
नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखा, हेटौँडाबाट करिब सात करोड रुपैयाँ बराबरका विद्युतीय सामान हराएको खुलासा भएको छ। यस प्रकरणमा संलग्न भएको आशंकामा कर्मचारीहरूमाथि कारबाहीको सिफारिस गरिएको छ।
प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित जिन्सी शाखामा पठाइएका विद्युतीय सामग्रीहरूको अभिलेख भए पनि स्टोरमा ती सामग्रीहरू भेटिएका छैनन्। केही सामग्री अन्य प्रदेशमा पठाइएको भेटिए पनि करिब सात करोडको सामान अझै हराइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाका अनुसार, जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान हस्तान्तरण गर्ने क्रममा अभिलेखअनुसारका सामान नभेटिएपछि यो घटना सार्वजनिक भएको हो।
प्राधिकरणले यस घटनाको गम्भीरतालाई ध्यानमा राखेर केन्द्रीयस्तरमा छानबिन समिति गठन गरेको थियो। उक्त समितिको प्रतिवेदनअनुसार तत्कालीन शाखा प्रमुखसहित अन्य संलग्न कर्मचारीहरूमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।