बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, मंसिर २४, २०८१

५५८  पटक हेरिएको

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने स्थानीयको दैनिकीजस्तै बनेको उनको भनाइ छ ।

“अहिले बाँदरबाट सुन्तला जोगाउन मुस्किल परेको छ, हरेक वर्ष बाँदरको हुल बढेका छन्, किसानको बारी बाँदर आतङ्कले रित्तिन थालेका छन्, बाँदर नियन्त्रणतर्फ सरकारले ध्यान दिनुपर्ने भएको छ”, उनल भने ।

जङ्गलबाट हुलका हुल बाँदर बगैँचामा पसेर सुन्तला सखाप पार्न थालेपछि स्थानीय चिन्तित बनेका हुन् । “फलफूल र अन्नबाली सबै बाँदरले नष्ट गर्न थालेको छ, दुःख गरेर लगाएको खेती सबैमा क्षति हुन थालेको छ, बाँदरको आतङ्क नियन्त्रण गर्न खोरपासो बनाएर राष्ट्रिय निकुञ्जमा पठाउनुको विकल्प छैन”, उनले भने । सुन्तला बगैँचामा बाँदरले निकै दुःख दिएपछि स्थानीयले वडा र पालिकाको समेत ध्यानाकर्षण गराएका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बाँदर आतङ्क पछिल्लो समय किसानका लागि लागि ठूलो समस्या बनेर आएको बताए ।घारको बिरौटा, झरपाट, बैँसरी, हल्लेखर्क, लुलाए, कुरमुनीलगायतका बस्तीमा व्यावसायिक रुपमा सुन्तलाखेती हुँदै आएको छ । करिब १५ हजारभन्दा बढी सुन्तलाका बोट लगाइएको घारमा वार्षिक करिब रु ४० देखि ५० लाख बराबरको सुन्तला बिक्री हुने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्
error: Content is protected !!