२४०९ पटक हेरिएको
विराटनगर।बंगलादेशमा अल्पसख्यक सनातनी हिन्दू धर्मावलम्बीहरूमाथि भइरहेको अत्याचार, हिंसा, र धार्मिक असहिष्णुताका घटनाहरूको विरोधमा नेपाली सनातन ओमकार परिवारले सम्माननीय प्रधानमन्त्री के. पी. शर्मा ओलीज्यूलाई ज्ञापनपत्र पेश गरेको छ। उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय, मोरङमार्फत हस्तान्तरण गरिएको हो।
ज्ञापनपत्रमा हालै बंगलादेशमा सनातनी हिन्दू धर्मगुरु स्वामी चित्मय कृष्णदास लगायतका धर्मगुरुहरूको गिरफ्तारी र जेल चलानप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो कार्यले बंगलादेशका हिन्दू समुदायलाई असुरक्षित बनाएको उल्लेख छ। यसका साथै, संयुक्त राष्ट्रसंघीय मानव अधिकार घोषणा-पत्र 36/55 को उल्लङ्घन गर्दै बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भएको दमन तुरुन्त अन्त्य गर्न माग गरिएको छ।
ज्ञापनपत्रले नेपालजस्तो बहुसंख्यक सनातनी हिन्दू धर्मावलम्बीहरूको राष्ट्रले विश्वभरका अल्पसख्यक सनातनी समुदायहरूको मानव अधिकारको रक्षा गर्न भूमिका खेल्नुपर्नेमा जोड दिएको छ। यसले नेपाल र बंगलादेशबीचको भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने र धार्मिक सहिष्णुता कायम राख्न योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपालका सनातनी समाजका धार्मिक, सामाजिक संघसंस्था र व्यक्ति विशेषले बंगलादेश सरकारलाई धार्मिक सहिष्णुता कायम राख्न र गिरफ्तार गरिएका धर्मगुरुहरूको तत्काल रिहाइ सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै, यस्तो गतिविधिले बंगलादेशको छवि विश्वभर नकारात्मक बन्ने चेतावनी पनि दिइएको छ।
उक्त ज्ञापनपत्रमा ब्रिटिश संसदमा समेत बंगलादेशमा भएको धार्मिक हिंसाका घटनाहरूबारे छलफल भइसकेको तथ्यलाई स्मरण गराउँदै बंगलादेश सरकारलाई सचेत हुन आग्रह गरिएको छ। सनातनी हिन्दू धर्मावलम्बीहरूमाथि भएका अत्याचार र भेदभाव अन्त्य गर्न र शान्ति तथा धार्मिक सहिष्णुताको सन्देश फैलाउन बंगलादेश सरकारले तुरुन्त कदम चाल्नुपर्ने माग गरिएको छ।
नेपालका सनातनी ओमकार परिवार, धार्मिक संघसंस्था, र अन्य सम्बन्धित पक्षले बंगलादेशमा रहेका हिन्दू धर्मावलम्बीहरूको मानव अधिकार र धार्मिक स्वतन्त्रताको सम्मान गर्न दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।