६९४ पटक हेरिएको
विराटनगर ।संघीय सांसद डा. शेखर कोइरालाले विराटनगरमा निर्माणाधीन वृहत्तर खानेपानी परियोजनाको अनुगमन गरेका छन् ।खानेपानी परियोजनाको निर्माण कार्यप्रति चासो राख्दै सांसद कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा पुगेर अनुगमन गरेका हुन् । विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहलमा खानेपानी परियोजना सञ्चालन भइरहेको छ । जापान सरकार (जाइका)को अनुदान सहयोगमा सञ्चालित परियोजना निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।
हाल विराटनगर—८ स्थित हाम्रो चोक पूर्व, रोडरोष चोकदेखि ट्राफिक चोक, नयाँ गुद्रीदेखि पिचरास्थित चिउरामिल चोकसम्म पाइपलाइन विस्तार गर्ने कार्य भइरहेको छ ।नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका छन् कोइरालाले विराटनगर–५ स्थित कलरुवामा निर्माण भइरहेको ओभरहेड ट्यांकीको अनुगमन गरे । सो स्थानमा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण भइरहेको छ । नेता कोइरालाले निर्माणका क्रममा कुनै समस्या आइपरे जनप्रतिनिधिको नाताले आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले खानेपानीको पाइप पुरानो जीर्ण हुँदा विराटनगरवासीलाई खानेपानी वितरणमा समस्या देखिएको बताए । अशुद्ध खानेपानीकै कारण विगतमा विराटनगरमा जन्डिसजस्ता रोगको संक्रमण फैलिएको स्मरण गर्दै सांसद कोइरालाले अहिले सञ्चालन भइरहेको खानेपानी परियोजना निर्माण सम्पन्नपछि विराटनगरवासीले शुद्ध खानेपानी प्रयोग गर्न पाउने विश्वास व्यक्त गरे । परियोजनाको काम सन्तोषजनक रुपमा भइरहेको आफूले पाएको उनको प्रतिक्रिया थियो ।
कलरुवा टोलमा ओभरहेड ट्यांकीका लागि जग खन्ने काम भइरहेको छ । कलरुवामा १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउण्ड रिजरभाएर ट्यांकी (पानी स्टोर गर्ने ट्यांकी) निर्माण हुनेछ । डिपीएस स्कुलदेखि पूर्वतर्फ पाइप क्रसिङका लागि ब्रिजको काम भइरहेको छ । खानेपानी संस्था विराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार तीनपैनी, देवकोटा चोक र मुनालपथमा १२—१२ लाख लिटर क्षमताको पानी स्टोर गर्ने ट्यांकी निर्माण गरिनेछ ।
तीनपैनीमा हाल ४ लाख ५० लाख लिटर ओभरहेड ट्यांकी छ । परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुनेछन् । ६८ किलोमिटर पाइप बिछ्याइने रौनियारको भनाइ छ । तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र गतिमा निर्माण कार्य भइरहेको उनले सुनाए । हाल ४ किलोमिटर पाइपलाइन बिछ्याइसकिएको रौनियारले बताए । हाल निर्माणको करिब ९ प्रतिशत काम सकिएको छ ।
आवतजावत र बजारको व्यापार व्यवसायमा कुनै असर नपर्ने गरी पाइपलाइन विस्तारको काम भइरहेको रौनियारको भनाइ छ । उनका अनुसार सो परियोजना करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण हुँदैछ । परियोजनाको औपचारिक काम सुरु हुनुभन्दा अगाडि विभिन्न वडामा परीक्षणका रुपमा पाइपलाइन बिछ्याइएको थियो । परीक्षण पूरा भएपछि औपचारिक रुपमा पाइप बिछ्याउन सुरु गरिएको हो ।
विराटनगर महानगरका मेयर नागेश कोइरालाले विराटनगरबासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए ।
आफूले चुनावी घोषणापत्रमा विराटनगरबासीलाई शुद्धखानेपानी उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण गर्दै मेयर कोइरालाले तोकिएको समयभित्रै काम सम्पन्न गराउन महानगरका तर्फबाट निर्माण पक्षलाई सहयोग गरिरहेको बताए । समस्या देखिएका स्थानमा महानगरले नै समन्वय गरेर समाधान गरिरहेको मेयर कोइरालाको भनाइ थियो ।
‘दुई वर्षभित्र सबै काम सम्पन्न गरी महानगरवासीको घरको धारामा पानी झनुपर्छ,’ उनले थपे, ‘त्यसका लागि महानगरले कहाँ के कस्तो भूमिका निर्वाह गर्नुपर्छ महानगर तयार छ ।’ खानेपानी आयोजना सन् २०२६ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सम्पन्नपछि १ लाखभन्दा बढी लाभान्वित हुनेछन् ।