सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदार : शेखर कोइराला

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, पुष ०१, २०८१

९६५  पटक हेरिएको

विराटनगर।नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सञ्चार क्षेत्र लोकतन्त्रको पहरेदारका रुपमा उभिनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघका कोशी प्रदेश र मोरङ जिल्लाका नवचिर्वाचित पदाधिकारी र सदस्यहरुलाई कोइराला निवासमा बधाई दिँदै उनले सञ्चार क्षेत्र कमजोर भयो भने लोकतन्त्रसमेत कमजोर हुने धारणा राखे ।

उनले सञ्चार क्षेत्रले प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्नुपर्ने बताए । पछिल्लो समय सञ्चार क्षेत्र कमजोर हुँदै गएको हो कि भन्ने आफूले महसुस गरिरहेको कोइरालाको भनाइ थियो । नेता कोइरालाले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्रसँगै मुलुकमा अराजकता, व्यथिति, भ्रष्टाचार मौलाउँदै जाने बताए । ‘सञ्चार क्षेत्रले जहिले पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्दछ,’ उनले भने, ‘सञ्चार क्षेत्र बलियो भयो भने लोकतन्त्र पनि बलियो हुन्छ ।

संघीय सांसदसमेत रहेका नेता कोइरालाले मुलुकमा आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले तीनै तहको सरकारले सुशासन कायम गर्न नसकेको बताए । उनले भ्रष्टाचार, व्यथिति, अराजकताविरुद्ध सञ्चार क्षेत्रले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

‘अहिले देशका सुशासन छैन, भ्रष्टाचार दिन प्रतिदिन मौलाउँदै गएको छ । त्यही भएर युवाहरुमा देशप्रति निराशा बढ्दो छ’ उनले थपे, ‘यस्तो बेला सञ्चारकर्मीहरुको भूमिका अहम् हुन्छ । सबै विकृतिविरुद्ध सञ्चार क्षेत्रले आवाज उठाउनुपर्छ ।’ नेता कोइरालाले नवनिर्वाचित प्रदेश र जिल्लाका पदाधिकारी र सदस्यहरुलाई खादा र अविर लगाएर बधाई दिएका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!