वरिष्ठ होमियोपैथिक चिकित्सक डा. जीवन प्रकाश रायलाई “लाइफ टाइम एचिभमेन्ट अवार्ड” प्रदान

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, पुष ०७, २०८१

५९१  पटक हेरिएको

विराटनगर। नेपाल होमियोपैथिक चिकित्सक संघले वरिष्ठ होमियोपैथिक चिकित्सक डा. जीवन प्रकाश रायलाई “लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२४” प्रदान गरेको छ। कोशी प्रदेशको विराटनगरमा सम्पन्न दुई दिने नेपाल-भारत होमियोपैथिक वैज्ञानिक स्वास्थ्य शिखर सम्मेलनको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघका केन्द्रीय अध्यक्ष डा. रविन्द्र रायले उक्त अवार्ड हस्तान्तरण गरेका हुन्।

सोही कार्यक्रममा अन्य चिकित्सकहरूलाई पनि विभिन्न पुरस्कारहरू प्रदान गरिएको थियो। डा. मो. सबिर खाँ र डा. प्रेमनारायण श्रीवास्तवलाई “गोल्डेन सर्भिस अवार्ड,” डा. निवाज अहमदलाई “लेगेसी अफ एफिसियन्सी अवार्ड,” तथा गोपाल गुप्ता, सकलदेव मण्डल, र लेखनाथ भट्टलाई “अनर अफ डेडिकेशन अवार्ड” प्रदान गरियो।

सम्मेलनमा नेपाल र भारतका ३०० भन्दा बढी होमियोपैथिक चिकित्सकहरूको सहभागिता रहेको छ। भारतको मुम्बईबाट सहभागी भएका क्यान्सर रोग विशेषज्ञ डा. फारुक जी मास्टरले क्यान्सर रोग र यसको उपचार पद्धतिबारे विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोप्याथिक उपचार पद्धतिको महत्त्व औंल्याउँदै यसको विकासका लागि प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले होमियोप्याथिक काउन्सिल र कलेज स्थापनाका लागि पहल गर्ने बताउँदै यस क्षेत्रलाई व्यवस्थित गर्न कार्यदल बनाउने योजना अघि सारे।

वरिष्ठ चिकित्सक डा. जीवन प्रकाश रायले होमियोप्याथिक उपचार विधिको विशेषता उल्लेख गर्दै यसले कम खर्चमा कुनै साइड इफेक्ट बिना उपचार उपलब्ध गराउने जानकारी दिए। उनले होमियोप्याथीको विकासका लागि कोशी प्रदेश सरकारले सहयोग गर्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रमका महासचिव डा. रवि रायले संघका तर्फबाट कोशी प्रदेश सरकारसँग होमियोप्याथिक काउन्सिल स्थापना र अन्य पूर्वाधार विकासका लागि माग राखे। यस सम्मेलनले नेपाल र भारतका होमियोपैथिक चिकित्सकहरूबीच अनुभव आदान-प्रदान गर्दै यस क्षेत्रको वैज्ञानिक र व्यावसायिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मुख्यमन्त्री कार्कीले भारतको उन्नत होमियोप्याथिक प्रणालीलाई नेपालमा समेत भित्र्याउन विज्ञहरूको सहयोगमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले नेपालका प्राकृतिक र जैविक स्रोतहरूको उपयोग गरी होमियोप्याथिक उपचार पद्धतिको प्रभावकारिता बढाउन सकिने बताए।दुई दिनसम्म चल्ने यो सम्मेलनले होमियोप्याथिक उपचार पद्धतिप्रति विश्वास र जागरूकता फैलाउने तथा यसको विकासमा नयाँ दिशानिर्देश प्रदान गर्ने विश्वास गरिएको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!