६९६ पटक हेरिएको
विराटनगर।विराटनगर–१० स्थित अर्किड कलेजले राष्ट्रपति रनिङ शिल्डसहित विभिन्न प्रतियोगिता र कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।आइतबार कलेज परिसरमा आयोजित कार्यक्रममा १७ आंै महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुतर्फको ४८ केजी समूहमा स्वर्णपदक जित्न सफल विद्यार्थी आलिम साफीलाई कलेजले सम्मान गरेको छ ।
त्यस्तै राष्ट्रपति रनिङ शिल्ड छात्रतर्फको कबड्डीमा प्रथम हुने र छात्रातर्फ तृतीय हुने विद्यार्थीहरुलाई पनि कलेजले सम्मान गरेको छ । १७ आंै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कलेजले उसु र छात्रतर्फको कबड्डीमा स्वर्णपदक जित्न सफल भएको थियो । त्यस्तै छात्रातर्फ रजतपदक जितेको थियो ।
उत्कृष्ट विद्यार्थीहरुलाई कलेजका अध्यक्ष अमित ढकाल, प्राचार्य सीएम श्रेष्ठ, निर्देशक दीपेश बास्तोला, मनिष भट्टराई, गजेन्द्र पण्डित, दुर्जय थापा, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले अविर र खादा लगाएर सम्मान गरेका थिए । मोरङको कटहरीस्थित योङ हर्ट ग्रुपले आयोजना गरेको अण्डर–१९ फुटबल प्रतियोगितामा प्रथम हुने विद्यार्थीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
सोही अवसरमा कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा त्रैमासिक परीक्षाअन्तर्गत कक्षा ११ को विज्ञानतर्फ अशोककुमार मण्डल, हस्तबहादुर बुढाक्षेत्री, परिणाम भण्डारी, कक्षा १२ का मञ्जिल दाहाल, विवश सापकोटा र अनुराधा यादवलाई नगदसहित सम्मान गरिएको कार्यक्रम संयोजक मनोज तिवारीले जानकारी दिए । त्यस्तै व्यवस्थापनतर्फको कक्षा ११ मा प्रथम हुने जेयाकुमारी पोद्धार, द्वितीय हुने प्रशान्त धामी र तृतीय हुने साक्षी माझीलाई सम्मान गरियो । व्यवस्थापनतर्फकै कक्षा १२ को त्रैमासिक परीक्षामा प्रथम हुने प्रतिमा सिग्देल, द्वितीय हुने अभिशेक ठाकुर र तृतीय हुने पर्वत राजभोर पनि सम्मानित भएका छन् ।
त्यस्तै ११ र १२ कक्षाका विज्ञान र व्यवस्थापन दुवै संकायका उत्कृष्ट १५–१५ जना विद्यार्थीलाई पनि खादा र अविर लगाएर सम्मान गरिएको थियो । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद र अरु उत्कृष्ट विद्यार्थीलाई खादा र अविरले सम्मान गरिएको प्राचार्य सीएम श्रेष्ठले बताए । उनले अरु विद्यार्थीलाई पनि यसरी नै पुरस्कार र सम्मान प्राप्त गर्ने गरी उत्कृष्ट हुन आग्रह गरे ।
अध्यक्ष अमित ढकालले पाठ्यक्रमसँगै खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुनेगरी अगाडि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । निर्देशक दीपेश बास्तोलाले राष्ट्रपति रनिङ शिल्ड र कटहरीमा आयोजित फुटबल प्रतियोगिताले अर्किडका विद्यार्थी हरेक क्षेत्रमा अब्बल छन् भन्ने कुराको प्रमाणित गरेको दाबी गरे । उनले निकट भविष्यमै आयोजना हुने हिसान कपमा पनि उत्कृष्ट हुनेगरी तयारी थाल्न आग्रह गरेका थिए । विद्यार्थीहरुको चौतर्फी विकासका लागि अर्किडले अध्ययनसँगै खेलकुद, कविता, वक्तृत्वकला, चित्रकला, वादविवादलगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै प्राचार्य श्रेष्ठले जानकारी दिए ।