एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, पुष ०७, २०८१

४७३  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिकाअन्तर्गत रहेको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजना एकदिने फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला सम्पन्न भएको छ ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) को समेत सहआयोजना रहेको कार्यशाला आदर्श माविमा भएको थियो ।

कार्यशालामा सहभागी विज्ञान शिक्षकहरुलाई भारतबाट आएका डा. रफिक रासिद शेखले प्रशिक्षण दिनुभएको थियो । उहाँले शिक्षकहरुलाई फोल्डस्कोप (सानो माइक्रोस्कोप)का बारेमा जानकारी दिनुका साथै त्यसको उपयोग गरी शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउने भन्ने विष्वायमा प्रशिक्षण दिनुभएको थियो । उहाँले विज्ञान शिक्षकहरुलाई सूक्ष्मदर्शी जीवदेखि विशाल ब्रम्हाण्डलाई अवलोकन गर्न विभिन्न स्रोत साधनहरुबारे जानकारी दिनुभयो । उहाँले सहभागी सबै शिक्षकहरुलाई एक–एक थान फोल्डस्कोप उपलब्ध गराउनुभयो ।

समापन समारोहमा महानगरपालिकाका मेयर नागेश कोइरालाले सहभागी शिक्षक–शिक्षिकाहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहनुभएका मेयर कोइरालाले खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले निकै महत्वपूर्ण कार्य गरिरहेको आफूले पाएको बताउनुभयो । उहाँले समितिलाई आवश्यक पर्ने सहयोग महानगरले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मेयर कोइरालाले शिक्षक–शिक्षिकाहरुलाई सिकेको सीप र ज्ञानलाई विद्यार्थी जानकारी दिई विज्ञान तथा प्रविधितर्फ उनीहरुलाई आकर्षित गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अनुसन्धान समितिका अध्यक्ष प्रविणकुमार विश्वास, उदीप पोखरेल, ओशन शर्मा कट्टेल, आदित्य झा, प्रितम साहलगायतले फोल्डस्कोप तथा खगोल विज्ञान कार्यशाला निकै फलदायी भएको बताउनुभयो । माइक्रोस्कोपको आकार ठूलो हुनुका साथै महँगो र उपयोग गर्न जटिल भएकाले फोल्डस्कोप प्रारम्भिक सिकाइका लागि निकै उपयोगी हुने आयोजक समितिका उदिप पोखरेलको भनाइ छ । फोल्डस्कोप सानो र गोजीमै बोक्न सकिने भएकाले बढी उपयोगी हुने पोखरेलले बताउनुभयो । कार्यशालामा विराटनगरका १० वटा सामुदायिक विद्यालयका २० जना प्रतिनिधि विज्ञान शिक्षकहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!