६०९ पटक हेरिएको
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाएका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाएका छैनन् ।
यादवले धान थन्क्याएलगत्तै करिब पाँच कट्ठा जग्गामा गहुँ छर्ने तयारी गरेका थिए । गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत उनले युरिया र डिएपी मल किन्न पाएनन् । सोमबार पनि उनी मल लिन लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय पुगे । “खेती लगाउने समय घर्किसक्यो, कतैबाट पनि मल किन्न पाइएन । यहाँ त पाइन्छ कि भनेर आएको हुँ”, कृषक यादवले भने, “तर यहाँबाट पनि मल पाउन सम्भव भएन ।”
कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई प्रत्यक्ष रूपमा मल दिन नमिल्ने र यसका लागि रासायनिक मल वितरण गर्ने सहकारी धाउनुपर्ने यादवले बताए । उनी रित्तै घर फर्किए । अनुदानको मल समेत किन्न नपाएको यादवको गुनासो छ ।
यादवको जस्तै सिरहाका १७ वटै पालिकाका अधिकांश किसानले मल पाउन सकेका छैनन् । कतिपयले मल अभावका कारण गहुँ छर्न पाएका छैनन् । कतिपयले उम्रिएको गहुँमा मल छर्न सहकारी तथा अन्यत्र भौँतारिरहेका भेटिन्छन् । तर मल सहजै पाइँदैन । भेटिए पनि चर्को मूल्य तिर्नुपर्छ । स्थानीय तहको सिफारिसअनुसार सहकारीमार्फत पाउनुपर्ने मल पनि किसानले पाउन सकेका छैनन् ।
किसानका लागि रासायनिक मल एकदमै न्यून मात्रामा प्राप्त भएको लहान नगरपालिका–२ का वडाध्यक्ष सियाराम यादवले बताए । मागको करिब एक तिहाइ मात्रामा रासायनिक मल उपलब्ध भएकाले अहिले मलको हाहाकार भएको उनले जानकारी दिए । किसानलाई दिइने मलको कोटा बढाउन वडाध्यक्ष यादवले सरकारसँग माग गरे ।
भारत तथा तेस्रो मुलुकबाट सरकारले खरिद गरेर ल्याएको रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले कृषि सहकारी संस्थामार्फत किसानलाई अनुदानमा उपलब्ध गराउँदै आएको छ । स्थानीय तहमा त्यहाँका उपप्रमुख तथा उपाध्यक्षको नेतृत्वमा मल खाद्य आपूर्ति समितिको सिफारिसमा कृषि सहकारी डिलरबाट किसानलाई रासायनिक मल वितरण हुँदै आएको छ ।
सिरहामा १७ वटै पालिकामा गरी एक सय २० कृषि सहकारी डिलर रहेका छन् । यसबाटै किसानलाई रासायनिक मल वितरण गरिँदै आएको कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय लहानका प्रमुख दीपराज पौडेलले बताए । उनका अनुसार सरकारले नै न्यून मात्रामा उपलब्ध गराएकाले अहिले मल अभाव भएको हो ।
सिरहामा ६ हजार चार सय हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये झण्डै ७५ प्रतिशतमा गहुँखेती हुने गर्छ । यसका लागि कम्तीमा चार हजारदेखि चार हजार पाँच सय मेट्रिक टन डिएपी मल र तीन हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने प्रमुख पौडेलले बताए । कार्यालयले मङ्सिरमा तीन चरणमा गरी एक हजार दुई सय ७२ मेट्रिक टन मात्र डिएपी मल वितरण गरेको उनले जानकारी दिए । पहिलो चरणमा आठ सय ७२ मेट्रिक टन डिएपी र एक हजार मेट्रिक टन युरिया, दोस्रो चरणमा तीन सय मेट्रिक टन डिएपी र त्यति नै मात्रामा युरिया तथा तेस्रो चरणमा एक सय मेट्रिक टन डिएपी र सोही मात्रामा युरिया वितरण गरिएको थियो ।
प्रमुख पौडेलले अझै आठ सय ५० मेट्रिक टन डिएपी मल आयात गरिने बताए । यहाँबाट वितरण गरिने डिएपी मल प्रतिबोरा दुई हजार दुई सय ७२ रुपैयाँ ५० पैसा, युरिया प्रतिबोरा आठ सय २२ रुपैयाँ ५० पैसा र पोटास एक हजार पाँच सय ७२ रुपैयाँ तोकिएको छ । धान, मकै, गहुँजस्ता प्रमुख खाद्यान्न बाली लगाउने मौसममा सधैँ रासायनिक मल अभाव हुँदा देशको अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पारिरहेको छ ।