८४९ पटक हेरिएको
बिराटनगर।नेपाल क्रिकेटमा एक चम्किलो तारा बनेका ललित नारायण राजबंशीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो अलग पहिचान बनाएका छन्। विराटनगर-१४ निवासी ललितको संघर्षपूर्ण यात्राले न केवल मोरङ क्षेत्र नं ५, तर सम्पूर्ण कोशी प्रदेश र देशकै मान बढाएको छ।
नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष तथा युवा नेता राजेश गुप्ताले हालै ललित राजबंशीलाई नगद पुरस्कारसहित सम्मान गरे। गुप्ताले ललितको घरमा पुगेर सम्मान गर्दै भने, “ललित केवल कोशी प्रदेशको शान होइनन्, अब देशकै गहना बनिसकेका छन्। उहाँको अन्तर्राष्ट्रिय स्तरमा उचाइ बढाउँदै गएको छवि विराटनगर र नेपालका लागि गौरवको विषय हो।”
गुप्ताले ललितजस्ता प्रतिभावान खेलाडीहरूलाई सम्मान र प्रोत्साहन दिनुपर्छ भन्दै थपे, “ललितको संघर्ष र सफलता हाम्रा लागि प्रेरणा हो। यस्तो खेलाडीलाई साथ र समर्थनले मात्र उनीहरूको यात्रा थप सहज हुनेछ।”
ललित राजबंशीले आफ्नो खेलकुद यात्रामा कैयौँ चुनौतीहरू सामना गरेका छन्। क्रिकेटप्रतिको समर्पण र मिहिनेतकै कारण उनले नेपाल प्रिमियर लिग (NPL) को सर्वोत्कृष्ट बलरको उपाधि जित्न सफल भएका हुन्। सीमित स्रोतसाधनका बाबजुद उनले मैदानमा अनुशासन र उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्यको रूपमा स्थान पक्का गरे। उनको संघर्षले मात्र होइन, मैदानमा बलिङ कौशलले पनि उनलाई देशभरको युवाका लागि प्रेरणाको स्रोत बनाएको छ।
राजेश गुप्ता, कोशी प्रदेशका कुशल युवा नेता र समाजसेवीका रूपमा परिचित छन्। उनले न केवल खेलाडीहरूलाई प्रोत्साहन गर्ने काम गर्दै आएका छन्, तर समाजका अन्य क्षेत्रका व्यक्तित्वहरूको पनि सम्मान गर्दै उनीहरूको हौसला बढाउने काम गरेका छन्।
गुप्ताले खेलकुद र समाज सेवालाई समेटेर ललितजस्ता संघर्षशील प्रतिभाहरूलाई साथ दिनु आजको आवश्यकता भएको बताएका छन्। “हाम्रो समाजमा यस्ता प्रतिभाको पहिचान, सम्मान र प्रोत्साहन आवश्यक छ, जसले भविष्यमा अझ ठूलो कीर्तिमान राख्न सकून्,” उनले भने।