भानु कलेजको कवितामा रिया र वक्तृत्व प्रतियोगितामा एन्जिला प्रथम

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, पुष १२, २०८१

८४०  पटक हेरिएको

विराटनगर ।विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् । ‘छोरी’ शीर्षकको कविता वाचन गरेर रियाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् ।विद्यार्थीभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा ‘गरिबको पीडा’ शीर्षकको कविता वाचन गरेर एन्जल श्रेष्ठ द्वितीय, ‘म हावा बोलिरहेछु’ शीर्षकको कविता वाचन गरेर जानकी राजवंशी तृतीय र ‘हाम्रो देशमा भ्रष्टाचार’ शीर्षकको कविता वाचन गरेर अंशुकुमार यादवले सान्त्वना स्थान प्राप्त गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कलेजका शिक्षक वसन्त बस्नेतसमेत निर्णायक रहेको समितिले उत्कृष्ट प्रतियोगितामा भाग लिएका १८ जना प्रतिस्पर्धीमध्येबाट पुरस्कृतको नाम छनौट गरेको हो । त्यस्तै कलेजले ‘नेपालको समृद्धि र विकासः चुनौती र अवसरहरु’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट विचार राखेर एन्जल श्रेष्ठ प्रथम भइन् । त्यस्तै मान्यता बस्नेत द्वितीय हुँदा आर्यन झा तृतीय र पियुष पाठक सान्त्वना भए ।

वक्तृत्वकला प्रतियोगिताको पनि नवोदित र बस्नेतले नै निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले पठनपाठनसँगै विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले जुन क्षेत्रमा लागे पनि उत्कृष्ट हुने लक्ष्य राख्न विद्यार्थीहरुलाई आग्रहसमेत गरे । कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ, कोर्डिनेटर रमेश पाण्डे, अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधान, कलेजका निर्देशक सम्साद अन्सारी, सुशील भगत, दीपक बराल, सोमप्रसाद निरौला, डा. नरेन्द्रकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमको अध्ययनसँगै कविता, वक्तृत्व, वादविवाद, चित्रकला, हाजिरजवाफका साथै खेलकुदसहितका अतिरिक्त क्रियाकलाप गर्दै आएको प्राचार्य श्रेष्ठले जानकारी दिए । कलेजमा ६ सय विद्यार्थी अध्ययनरत छन् ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!