६६३ पटक हेरिएको
मोरङ ।मोरङको रंगेली नगरपालिका–३ स्थित वावुसाहेव टोलमा गत चैत ३ गते भएको भीषण आगलागीबाट प्रभावित परिवारहरू अझै पनि आफ्नो घर निर्माणको पर्खाइमा छन्। घर निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट सहयोग जुटे पनि काममा ढिलासुस्ती भइरहेको पीडितहरूको गुनासो छ।
घर निर्माणका लागि हेमिडेन्स संस्था, लुथरन समाज लगायत अन्य संघसंस्थाको सहयोगमा दुई कोठा, एउटा भान्सा, टुबेल र शौचालयसहितको घर निर्माण भइरहेको छ। प्रति घर ६ लाख ५५ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यी घरहरूको काम अहिलेसम्म ८० प्रतिशत मात्र सम्पन्न भएको छ।
रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले असोज महिनाभित्रै पीडित परिवारलाई नयाँ घरमा सार्ने प्रतिबद्धता जनाएका थिए। तर, हालसम्म पनि घर निर्माणको काम सुस्त गतिमा चलिरहेको छ। जाडो याममा एउटा परिवारका सदस्यहरू एउटै खाटमा दुई जना सुत्न बाध्य छन् भने अरू चिसो भुइँमा सुत्न बाध्य छन्। आगलागी पीडित सुक्देव मुर्मुले यस्तो अवस्थाबारे दुःख व्यक्त गरेका छन्।
सहयोगी दाताहरूले ओढ्ने ओछ्याउने दिए पनि प्रदेश सरकार र स्थानीय सरकारले घर निर्माणको काम चाँडो सक्न आग्रह गरेको पीडितहरू बताउँछन्।
अहिले उक्त स्थानमा २२ घर निर्माण भइरहेको छ। अधिकांश घरको छानोको काम सम्पन्न भए पनि शौचालय र भान्साकोठाको काम बाँकी नै छ। पीडितहरूका अनुसार ठेकेदार सातामा एक दिन मात्र काममा आउने गरेको र बाँकी दिनमा निर्माण सामग्री नभएको भन्दै काममा नआउने गरेको बताएका छन्।
महिलाहरूलाई शौचालय र नुहाउन निकै समस्या भएको छ। शौचालयमा पालो पर्खिनुपर्ने र शौचालयको ढोका पनि राम्रो नभएकाले थप समस्या भएको पीडित रैमती मुर्मुले बताइन्।
रंगेली नगरपालिकाका प्रशासकीय अधिकृत ओमकार न्यौपानेले भने अबको केही साताभित्र सबै घरको काम सम्पन्न भएर पीडितहरूलाई घर हस्तान्तरण गरिने बताएका छन्।