८५५ पटक हेरिएको
मोरङ । नेपाली कांग्रेस कोशी प्रदेशको ‘कचनकवल – सगरमाथा जागरण अभियान’ आगामी पौष २४ गतेदेखि सञ्चालन हुने भएको छ ।
पार्टीको १०० दिने राष्ट्रिय अभियानको समयावधि थप भएसंगै कोशी कांग्रेसले यस अघि तय गरेको जागरण अभियानको समय परिमार्जन गरेको हो । कोशी कांग्रेसले यसअघि उक्त अभियान पौष १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेस कोशी प्रदेशले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको १०० दिने अभियानको समापन पौष १६ गते हुने हुँदा जागरण अभियानको समय परिमार्जन गरिएको जनाएको छ । कांग्रेस कोशी प्रदेशका प्रवक्ता यदु विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौष २४ गते नेपालको सबैभन्दा होचो स्थान कचनकवलमा अभियानको उद्घाटन गरिने उल्लेख छ । उक्त अवसरमा केन्द्रीय नेताहरुको उपस्थितिमा निःशुल्क स्वास्थ शिविर सहित विविध कार्यक्रमहरु आयोजना हुने विज्ञप्तिमा उल्लेख छ ।
गत मंसिर २२ गते विराटनगरमा सम्पन्न नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनले पौष १६ गतेदेखि ‘कचनकवल – सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।