शिक्षक जिम्मेवार भए सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन्छ :मेयर कोइराला

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, पुष १४, २०८१

९६५  पटक हेरिएको

विराटनगर ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गर्नुभएको छ ।वडाध्यक्ष हरिशचन्द्र सहनीलाई साथैमा लिएर पुग्नुभएका मेयर कोइरालाले शिक्षक र विद्यार्थीसित अन्तरक्रियासमेत गर्नुभएको थियो ।

सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउँदै मेयर कोइरालाले परिणाम देखिने गरी काम गर्न प्रधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिनुभएको थियो । विद्यालयको भौतिक संरचना निर्माण महानगरले जिम्मा लिने बताउँदै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिको जिम्मा शिक्षकहरुले लिनुपर्नेमा जोड दिनुभयो । तल्लो तहदेखि नै गुणस्तर वृद्धि गर्न सकिए माथिल्लो तहमा नतिजा राम्रो आउने उहाँको भनाइ थियो । मेयर कोइरालाले प्रअ र शिक्षक जिम्मेवार र इमान्दारीपूर्वक लागिपरे गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

महानगरले सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पंखा जडान कार्यलाई निरन्तरता दिइरहेको कोइरालाले जानकारी दिनुभयो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगर लागिपरेको उहाँको भनाइ थियो । वडाध्यक्ष सहनीले सो विद्यालयको भौतिक संरचनासँगै गुणस्तर वृद्धिमा वडा लागिपरेको जानकारी दिनुभयो । मेयर कोइरालाले महानगरले निर्माण गरेको नवनिर्मित विद्यालय भवनको समेत अवलोकन गर्नुभएको थियो । सो क्रममा प्रअ, शिक्षक र विद्यार्थीले मेयर कोइरालालाई स्वागत गरेका थिए ।

विद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ खेम निरौलाले जानकारी दिनुभयो । प्रअ निरौलाले विद्यालयमा डुबानको समस्या रहेको बताउनुभयो । उहाँले महानगरले नयाँ भवन बनाइदिएपछि वर्षाको समयमा पनि पठनपाठनमा सहज भएको उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!