१५११ पटक हेरिएको
विराटनगर।नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला बेलायतको संसदभित्र सम्बोधन गर्न बेलायत जाने भएका छन् ।बेलायतको संसदभित्र सम्बोधन गर्ने नेता कोइराला पहिलो नेपाली नेता हुनेछन् । यसअघि नेपालका कुनै पनि राजनैतिक दलका नेताले बेलायतको संसदभित्र सम्बोधन गर्ने अवसर प्राप्त गरेका थिएनन् ।
प्रनितिधिसभा सदस्यसमेत रहेका नेता कोइराला बेलायतको संसद भवनभित्र यही जनवरी १३ का दिन एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । बेलायतका विदेशमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला बेलायत जाँदैछन् । बेलायतको संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, व्यापार, वाणिज्यमन्त्रीलगायत सांसदको उपस्थितिमा सम्बोधन गर्न पाउने नेपालबाट पहिलो र दक्षिण एशियाबाट दोस्रो नेता कोइराला बन्नेछन् ।
नेता कोइरालाले प्रजातन्त्रको जननी बेलायतको संसदभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्न पाउनु कांग्रेसका लागि मात्रै नभएर नेपाली राजनैतिक दलका नेता र नेपालका लागि निकै गर्वको कुरा भएको विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले बताए । नेता कोइरालाको राजनैतिक व्यक्तित्व निकै बढ्ने उनको भनाइ थियो ।
नेपाल–बेलायत सम्बन्ध स्थापित भएको २०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका थिएनन् ।
बेलायत नेपाल सम्बन्धको इतिहासमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने पहिलो नेपाली नेता डा. शेखर कोइराला बन्ने भएका छन् । सादगी र बौद्धिक राजनैतिक व्यक्तित्व, लोकतन्त्र र मानवअधिकार रक्षा, शान्ति स्थापना, भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षको निरन्तर वकालत गरिरहेकाले संसद भवनभित्र सम्बोधनका लागि डा. कोइरालालाई निमन्त्रणा गरिएको बताइएको छ ।
नेता कोइरालाको बेलायत भ्रमणलाई लिएर नेपाली कांग्रेसका विभिन्न नेता र कार्यकर्ताहरुले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया जनाएका छन् । कांग्रेसका विराटनगर नगर सभापति दीपक चापागाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गर्व लाग्छ नेपाली कांग्रेसभित्र डा. शेखर कोइरालाको कार्यकर्ता भएकोमा ।’ राष्ट्रिय राजनीतिसँगै अन्तर्राष्ट्रियस्तरमा समेत शेखर कोइरालाको महत्व बढेको चापागाईंको बुझाइ छ ।
हिसानका केन्द्रीय उपाध्यक्षसमेत रहेका राजनैतिक विश्लेषक भेषराज पोखरेलले बेलायतले दिएको उच्च सम्मानले डा. शेखर कोइरालाको राजनैतिक उचाइ बढाएको प्रतिक्रिया दिए । नेता कोइरालाको कांग्रेसभित्र मात्रै होइन र राष्ट्रिय राजनीतिमै महत्व र आवश्यकता बढाएको पोखरेलको बुझाइ छ । बेलायतको संसदभित्र बोल्ने विषयवस्तुमाथि गम्भीर अध्ययन गरेर पूर्ण तयारीका साथ जान नेता कोइरालालाई विश्लेषक पोखरेलले सुझाव दिए ।