इडेनवर्क कलेजको वक्तृत्वकला प्रतियोगितामा पवन प्रथम

Logo
स्थानिय आवाज प्रकाशित शुक्रबार, पुष २६, २०८१

१०९५  पटक हेरिएको

विराटनगर।विराटनगरस्थित इडेनवर्क कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै पवनकुमार यादव प्रथम भएका छन् ।‘वैदेशिक रोजगारीः रहर कि बाध्यता’ शीर्षकमा उत्कृष्ट विचार व्यक्त गरेर पवन प्रथम भएका हुन् । कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले सुप्रिया सिंहलाई द्वितीय घोषणा गरेको थियो ।

प्रतियोगितामा संजय साहलाई तृतीय र अल्ताप हुसेन सान्त्वना भए । नवोदितसहित कान्तिपुर कलेजका प्रिन्सिपलसमेत रहेका आयोजक कजेका सञ्चालक भुवन नेपाल, शिक्षक वासुदेव शर्मा र शिक्षिका सीमा आचार्यसमेत सहभागी निर्णायक समितिले सबै पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले उद्घाटनको समेत उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्णायक नवोदितले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्न यस्ता प्रतियोगिताहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सफल हुनका लागि अनुशासन अत्यन्तै महत्वपूर्ण भएको बताउँदै नवोदितले विद्यार्थीलाई अनुशासित भएर अगाडि बढ्न आग्रह गरे । अहिलेदेखि नै लक्ष्य निर्धारण गरेर अगाडि बढे मात्रै सफलताको शिखरमा पुग्न सकिने उनको विचार थियो । कक्षागत पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन नवोदितले विद्यार्थीलाई आग्रह गरे ।

कान्तिपुर कलेजका प्रिन्सिपल भुवन नेपालले वक्तृत्वकलाले विद्यार्थीमा बोल्ने क्षमताको विकास गर्ने बताए । प्रतियोगिताको विषयप्रति सबै विद्यार्थीले न्याय गरेको उनको भनाइ थियो । कलेजका अध्यक्ष विष्णु दाहालले कजेलमा अध्ययनरत १३ सय विद्यार्थीमध्येबाट १७ जनाले सहभागिता जनाउनु नै जित भएको विचार राखे । अध्यक्ष दाहालले विद्यार्थीको चौतर्फी विकासका लागि कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकतामा राखेको बताए ।

क्याम्पस प्रमुख दीपेन्द्रकुमार साह, संयोजक शम्भुकुमार महतो, सञ्चालक कृष्ण निरौला, संयोग पोखरेल, दिनेश पण्डितलगायतले रुची पहिचान गरी विद्यार्थीलाई अगाडि बढ्ने वातावरण कलेजले सदैव सिर्जना गर्ने गरेको प्रस्ट पारे । विजेता विद्यार्थीलाई प्रमुख अतिथि नवोदित, कलेजका अध्यक्ष विष्णु दाहाल, क्याम्पस प्रमुख साहलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए । विविएस र विएड संकायको पढाइ हुने कजेलमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पसन प्रमुख साहले जानकारी दिए ।

दुवै संकायमा ४१७ जना नयाँ विद्यार्थी भर्ना भएको उनले बताए । उनका अनुसार कलेजले बेलाबेला कविता, वादविवाद, वक्तृत्व, हाजिरीजवाफ नृत्य, गायन, खेलकुद प्रतियोगितासहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!