जनजाती कल्याण आश्रमको छात्रावासलाई ३० भन्दा बढी दाताको सहयोग

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०१, २०८१

३०७  पटक हेरिएको

विराटनगर।जनजाती कल्याण आश्रम नेपाल अन्तर्गतको आमाको माया छात्रावास, विराटनगरलाई ३० भन्दा बढी दाताहरूले आर्थिक सहयोग गरेका छन् । छात्रावासमा अध्ययनरत ३० जना विद्यार्थीलाई एक जना दाताले वार्षिक २५ हजार रुपैयाँका दरले सहयोग गरिरहेका छन् ।

माघे सङ्क्रान्तिको अवसरमा मंगलबार आयोजित छात्रावासको वार्षिकोत्सव एवं सामूहिक खिचडी वितरण कार्यक्रममा विद्यार्थीहरूलाई सहयोग गर्ने दाताहरूको नाम सार्वजनिक गरिएको हो । सुरेन्द्र गोल्छा, रतन मदन पुरिया, राजेश सिंह लगायतका विभिन्न व्यक्ति तथा संस्थाले छात्रावासलाई आर्थिक सहयोग गरेका छन् ।

छात्रावासका संस्थापक अध्यक्ष शिवरतन जोशीले दाताको सहयोग अपुग भए पनि विराटनगरका विभिन्न दाताहरूबाट खाद्यान्नदेखि तरकारीसम्म निरन्तर सहयोग भइरहेको बताए । उनले यसले गर्दा छात्रावासमा सीमान्तकृत विद्यार्थीहरूले अध्ययन गर्न पाएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय गीतका लेखक प्रदिपकुमार राई (ब्याकुल माईला) प्रमुख अतिथि थिए । उनले शिक्षा आर्जनका लागि सहयोग गर्ने दाताहरूको प्रशंसा गरे । कार्यक्रममा जनजाती कल्याण आश्रम नेपालका पदाधिकारी, नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका अध्यक्ष सुशिला पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!