विराट एक्स्पोमा उद्योगी व्यवसायीका समस्या समाधान गर्न बिजनेस क्लिनिक

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, माघ ०१, २०८१

६५२  पटक हेरिएको

विराटनगर । उद्योग संगठन मोरङले आयोजना गरेको आठौँ संस्करणको विराट एक्स्पोमा उद्योगी व्यवसायीहरूले सामना गरिरहेका समस्या समाधानका लागि विशेष व्यवस्था गरिएको छ । एक्स्पो स्थलमा सञ्चालित बिजनेस क्लिनिकले उद्योगी व्यवसायीहरूलाई प्रत्यक्षरूपमा आफ्ना समस्या राख्ने अवसर प्रदान गरेको छ ।

संगठनले एक विज्ञप्ति जारी गर्दै एक्स्पोमा बिजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्ममार्फत सञ्चालन गरिएको जानकारी दिएको छ । यसले गर्दा देशभरका उद्योगी व्यवसायीहरूले आफ्ना समस्याहरू अनलाइनमार्फत दर्ता गर्न सक्नेछन् । दर्ता भएका समस्याहरूलाई विज्ञहरूको टोलीले अध्ययन गरी समाधानको उपाय खोजिनेछ ।

संगठनले यो क्लिनिक तीन वर्षदेखि सञ्चालन गर्दै आएको र यस अवधिमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका ७५ वटा उद्योगको स्थलगत भ्रमण गरी १ सय २२ वटा मुद्दा समाधान गरेको जनाएको छ ।

संगठनले बिजनेस क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्य समिति सदस्य पारस लुनियाको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । यस क्लिनिकको अवधारणाले चेम्बरहरूले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको बताइएको छ ।

उद्योग संगठन मोरङलाई गत कात्तिकमा कन्फिडिरेसन अफ एसिया प्यासेफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले उत्कृष्ट च्याम्बर अवार्ड प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!