९३५ पटक हेरिएको
विराटनगरमा सम्पन्न १०औँ इन्डो-नेपाल रोलेर स्केटिङ च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पछि पारेको छ। विराटनगरको दिल्ली पब्लिक स्कुलमा भएको प्रतियोगितामा नेपालका खेलाडीहरूले भारतका विभिन्न राज्यका खेलाडीहरूलाई पछि पार्दै उत्कृष्ट नतिजा निकालेका हुन्।
प्रतियोगितामा नेपालका लागि विराटनगरका ५ विद्यालयका ५६ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए भने भारतबाट हिमाचल प्रदेश, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेश गरी २२ जना खेलाडीहरूले भाग लिएका थिए।
विभिन्न उमेर समूहमा भएको प्रतिस्पर्धामा नेपालले २७ स्वर्ण, १४ रजत र १३ कांस्य पदक जितेर प्रथम स्थान हासिल गरेको छ। भारतले २४ स्वर्ण, १६ रजत र १७ कांस्य पदक जितेर दोस्रो स्थानमा चित्त बुझाउनुपरेको छ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमरीयाले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको प्रतिष्ठा बढाउन पनि मद्दत गर्ने बताए। उद्घाटन समारोहमा च्याम्पियन्स कराते एकेडेमीका खेलाडीहरूले कराते प्रदर्शन गरेका थिए। स्केटीङ्ग एण्ड स्केट बोर्डका अध्यक्ष सुरज कामतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।