पथरीशनिश्चरे – ६ मा एचपिभि खोप अभियानबारे अभिमुखिकरण सम्पन्न

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, माघ २४, २०८१

१४६०  पटक हेरिएको

पथरीशनिश्चरे।पथरीशनिश्चरे नगरपालिकाको वडा नं ६ मा एच.पि.भि खोप अभियानबारे अभिमुखिरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबारे स्थित आधारभुत स्वास्थ केन्द्रमा आज (बिहिवार) आयोजित अभिमुखिकरणमा स्वास्थ केन्द्र व्यवस्थापन समिति , खोप समन्वय समिति , स्थानीय विद्यालयका प्रतिनिधिहरु , सञ्चारकर्मी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा माघ २२ देखि देशव्यापी रूपमा सञ्चालनमा रहेको एच.पि.भि खोप अभियानका बारेमा आधारभूत स्वास्थ केन्द्रका प्रमुख चन्द्रबहादुर राजवंशी र अहेब सरिता कटुवालले सहजीकरण गरेका थिए ।

अभिमुखिकरणमा स्वास्थ केन्द्रका प्रमुख राजवंशीले पाठेघरको मुखको क्यान्सरका बारेमा विस्तृत रूपमा जानकारी गराएका थिए भने यसबाट बच्ने उपायहरु र एच.पि.भि खोपका बारेमा प्रष्ट पारेका थिए । उनले पाठेघरको मुखको क्यान्सरबाट पछिल्लो समय धेरै नेपाली किशोरीहरु पीडित हुँदै आएको उल्लेख गर्दै नेपालमा हरेक वर्ष २१६९ जना यसबाट संक्रमित हुने र प्रत्येक दिन ४ जनाको मृत्यु हुने तथ्यांक प्रस्तुत गरेका थिए ।

खोप अभियान अन्तर्गत वडामा माघ २७ गतेदेखि खोप अभियान सञ्चालन हुने जानकारी दिईएको छ । जस अनुसार बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्म माघ २७ गते भातेगौंडास्थित रामजानकी आधारभुत विद्यालयमा , माघ २८ गते हसन्दहस्थित डनबस्को बोर्डिङ स्कुलमा , माघ २९ गते दोहलुस्थित दुर्गा आधारभुत विद्यालयमा , माघ ३० गते मंगलबारे र केचनास्थित कञ्चनजंघा बोर्डिङ स्कुल र केचना प्याराडाईज बोर्डिङ स्कुलमा यसैगरी फाल्गुन १ गते सबै छुटेकाहरुलाई आधारभुत स्वास्थकेन्द्रका खोप कार्यक्रम सञ्चालन गरिनेछ ।

विद्यालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्न सरकारले माघ २२ देखि फाल्गुन ६ सम्म देशव्यापी एच.पि.भि खोप अभियान सञ्चालन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!