
११७६ पटक हेरिएको

मोरङ। नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री हरिनारायण चौधरीको दुःखद निधन भएको छ। चौधरीको निधनले नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमिति मर्माहित र स्तब्ध भएको जनाएको छ।
नेपाली कांग्रेस मोरङले स्वर्गीय चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ। श्रद्धाञ्जलीस्वरूप उनलाई नेपाली कांग्रेस मोरङ पार्टी कार्यालयमा अन्तिम बिदाई गरिएको छ।
बिदाई कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य एवं प्रदेश सांसद भीम पराजुली, एमाले नेता विनोद ढकाल, केन्द्रीय सदस्य रामलाल साह, पूर्व केन्द्रीय सदस्यहरू कविता सरदार र हसन अन्सारी, कोशी प्रदेश पदाधिकारी कोषाध्यक्ष राजेश गुप्ता ,सह महामन्त्री प्रमिला गच्छदार तथा सदस्यहरू, मोरङ कार्यवाहक सभापति भक्तिनाथ माझी, जिल्ला पदाधिकारीहरू, महासमिति महाधिवेशन प्रतिनिधिहरू लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थित थियो।
पार्टीका नेताहरूले चौधरीलाई चारतारे झन्डा ओढाएर सम्मान गरेका थिए। यो क्रममा पार्टीका धेरै नेता तथा कार्यकर्ताहरू भावुक बनेका थिए।
स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन सुदृढीकरण तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए। उनको निधनबाट पार्टीले एक अनुभवी र योग्य नेताको क्षति व्यहोरेको छ।
पार्टीका कार्यवाहक सभापति भक्तिनाथ माझीले चौधरीको योगदान सधैं स्मरणीय रहने बताउँदै, “उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ,” भने। त्यसैगरी, पार्टीको सूचना संचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले गहिरो दुःख व्यक्त गर्दै, “पार्टीले एक समर्पित नेता गुमाएको छ,” भने। चौधरीको निधनप्रति नेपाली कांग्रेस परिवार शोकमा डुबेको छ।