प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता सुरू

Logo
स्थानिय आवाज प्रकाशित मंगलबार, फाल्गुण २७, २०८१

११०७  पटक हेरिएको

काठमाडौं।नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ मुलपानी क्रिकेट मैदानमा सुरू भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले मुलपानी क्रिकेट मैदानमा मंगलबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुद भन्दा फरक किसिमको रहेको चर्चा गर्दै नेपाली खेलकुदको इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको उच्च योगदान रहँदै आएको बताउनुभयो ।

सीमित स्रोत साधनका बीच यस्ता प्रतियोगिता संचालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै प्रतियोगिता त्रुटीरहित ढंगबाट संचालन गर्न प्रतियोगिता संचालन तथा व्यवस्थापनमा खटिने सबैजना दत्तचित्त भएर लागि पर्न उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डम्बर पालले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!