सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया

Logo
स्थानिय अवाज प्रकाशित बुधबार, कार्तिक १५, २०८०

१६२८  पटक हेरिएको

विराटनगर। विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताउनुभयो । उहाँले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाउनुभयो । मेयर कोइरालाले विद्यालयस्तरदेखि नै सीपमूलक र प्रविधिमैत्री शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले महानगरभित्रका सबै सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि योजनाबद्ध रुपमा काम भइरहेको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विद्यालयको गुणस्तर सुधार्न प्रधानाध्यापकको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले प्रअहरु जिम्मेवार भए शैक्षिक सुधार गर्न सकिने उल्लेख गर्नुभयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले वडाभित्र जनपथ मावि र अरुणोदय आधारभूत विद्यालय सञ्चालनमा रहेको बताउनुभयो । उहाँले दुवै विद्यालयका प्रअ, अभिभावक, सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, शैक्षिक अभियन्ता, वडाका प्रबुद्ध व्यक्तिहरुलाई राखेर अन्तरक्रिया गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शिक्षा विज्ञ राजेन्द्र बुढाथोकीले अवधारणापत्र प्रस्तुत गर्नुभयो । टोल संगठनका तर्फबाट धु्रव कोइराला, पूर्वप्रधानाध्यापक ज्ञानेन्द्र खड्कासहित अभिभावक, विद्यार्थीलगायतले शैक्षिक सुधारका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!