विराटनगर हाटखोलास्थित शमसानघाटमा पनि राजनीति, सभापतिलाई थाहै नदिई नयाँ समिति गठन

Logo
sthaniyaaawaj प्रकाशित मंगलबार, साउन ३०, २०८०

३८५३  पटक हेरिएको

विराटनगर । मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको विराटनगर–७ हाटखोलास्थित शमसान घाटको नयाँ कार्य सम्पादन समिति विवादमा तानिएको छ । पुरानो कार्य सम्पादन समितिको नेतृत्वलाई थाहै नदिई मारवाडी सेवा समितिले एकलौटी ढंगले नयाँ समिति गठन गरेपछि विवादमा तानिएको हो ।

भर्खरै मारवाडी सेवा समितिले शमसान घाटको १५ सदस्यीय नयाँ कार्य सम्पादन समिति गठन गरेको सार्बजनिक भएको छ । यसअघि उक्त समितिका सभापति विराटनगरका समाजसेवी बेनीगोपाल मुण्दडा थिए । तर, निःस्वार्थरुपमा सामाजिक काम गर्दै आएका मुण्दडालाई कुनै जानकारीनै नदिई मारवाडी सेवा समितिले हटाएपछि विवाद छताछुल्ल भएको हो ।

मुण्दडाकै नेतृत्वमा शमसान घाटको मुहार फेरीएको छ । मुण्दडाले रातदिन केही नभनी शमसान घाटको मुहार फेरे । यद्यपी त्यसमा समितिका अन्य पदाधिकारी र सदस्यहरुको पनि साथ थियो । मुण्दडाले समितिको नेतृत्व गरेपछि अहिले शमसानघाट व्यवस्थित रुपमा सफा, सुन्दर, हाराहभरा मात्र भएको छैन, पर्यटकीय क्षेत्र जस्तै भएको छ ।

कुनै बेला शमसान घाटको बाटो समेत नहिड्ने मानिसहरु यतिबेला त्यहाँ सेल्फी लिन पुग्छन् । मारवाडी समुदायका अगुवाहरुका अनुसार पहिले शमसानघाटको नामै सुन्दा तर्सिनेहरु मुण्दडाले शमसान घाटलाई व्यवस्थित बनाएपछि उनलाई हटाएर नेतृत्व हत्याउन लागि परेपछि यतिबेला विवाद सतहमा आएको हो ।

स्रोतका अनुसार मुण्दडा आफै समितिको नेतृत्व हस्तान्तरण गर्ने सोचमा थिए । तर, उनलाईनै कुनै जानकारीनै नदिई समिति गठन गरेपछि मारवाडी सेवा समितिमाथिनै सोही समुदायका अग्रज र सदस्यहरुलेनै गम्भिर प्रश्न उठाएका छन् । विवादस्पद ढंगले समिति गठन भएपछि अहिले सो विषयमा मारवाडी समुदायभित्र ‘गाईँगुईँ’ चलिरहेको छ ।

सार्बजनिक नामावली अनुसार मारवाडी सेवा समितिले बनाएको शमसान घाटको नयाँ कार्य सम्पादन समितिको सभापति मोहनलाल शर्मा छन् । समितिको उपसभापतिमा राजकुमार अग्रवाल, सचिवमा घनश्याम राठी, सहसचिवमा अनिलकुमार साह, कोषध्यक्षमा रामजिवन अग्रवाल, सदस्यहरुमा शंकरलाल अग्रवाल, अभिनास बोहरा, गोपालप्रसाद राठी, शुसिल कुमार जोशी, गणेश प्रसाद राठी, विशाल केडिया, पवन सुराना, शेरसिंह दुगड, मधुवाबु तिबारी र विश्नाथ भगत चयन भएको बताइएको छ । तर, पुरानो समितिलाई कुनै जानकारी नदिई र प्रकृयासमेत पुरा नगरि समिति गठन भएको स्रोतले बतायो ।

मुदण्डा आफै नेतृत्वबाट विदा हुने चाहना राखिरहेपनि उनलाई अपमानजनक ढंगले हटाएपनि सदस्यहरुलेनै विरोध जनाएका छन् । मारवाडी सेवा समितिका सदस्य नन्दु तापडीयाले लामो समय शमसान घाटलाई व्यवस्थित बनाउन लागि पर्दै आएका मुण्दडालाई अपमानजनक ढंगले हटाइनु गलत भएको बताए । ‘उहाँ १२ वर्षदेखि शमसान घाटलाई अहिलेको अवस्थासम्म ल्याउन लागि पर्र्दै आउनु भएको छ । पहिल्यै समितिमा अब बस्दीन भन्दै हुनुहुन्थ्यो, हाम्रै प्रेसरमा बस्नु भएको थियो ।’ तापडीयाले भने,‘उहाँ जब छाड्न इच्छुक हुँदाहुँदै जानकारीनै नदिइ किन हटाउनुपर्यो ? जानकारी बेगर हटाउनु त गलत कुरा हो नी ? शमसान घाटमा पनि लाजमर्दो राजनीति हुनथाल्यो ।’

मारवाडी समुदायका अगुवा आन्द जाजुले पनि लामो समय काम गरेर शमसान घाटलाई हालको अवस्थासम्म ल्याइपुर्याउने सभापतिलाई नसोधी गलत ढंगले समिति गठन गरिएको बताए । उनले राम्रो काम गरेका सभापतिलाई सम्मान गर्नुको साटो अपमानपूर्वक हटाउनु गलत भएको बताए । ‘अहिलेको शमसान घाट त्यसै यति राम्रो र व्यवस्थित भएको होइन । मुण्दडाजीको ठुलो मेहनेत र लगानी छ । त्यस्तो सभापतिलाई एक शब्द नसोधी एकलौटी ढंगले समिति निर्माण गर्नु गलत कुरा हो ।’ उनले हाम्रो विराटनगरसँग भने,‘पुरानो समितिलाई थाहै नदिइ अर्को समिति बनाउनु गलत कुरा हो । तर, पुरानो समितिको सभापतिलाई जानकारी गराएर, मिटिङमा बोलाएर गरे भैहाल्थ्यो नी । यति राम्रो काम गर्नेलाई अझ अपमानित गरेर हटाउनु सरासर गलत कुरा हो ।’

नयाँ समिति गठन भएको विषयमा जिज्ञासा राख्न मुदण्डाले केही बोल्न चाहेनन् । ‘यसबारेमा हामीलाई केही जानकारी छैन । कसरी समिति बनाउनुभयो उहाँहरुलाईनै सोध्नुस् । यसबारे मलाई केही थाहा छैन ।’ मुण्डदले हाम्रो विराटनगरसँग संक्षिप्त कुरा गर्दै भने,‘मारवाडी सेवा समितिको अध्यक्षले जुन दिन लेखेर दिनुहुन्छ, त्यसपछि थाहा होला ।’

यता मारवाडी सेवा समितिका अध्यक्ष गोविन्दप्रसाद झुनझुनवालाले शमसान घाटको नयाँ कार्य सम्पादन समिति मारवाडी सेवा समितिको विधान बमोजिम सर्वसम्मत गठन भएको दावी गरे । ‘अहिलेको समिति हाम्रो विधान र नियमावली अनुसार सर्वसम्मत गठन भएको हो । समितिको वार्षिक सभा प्रत्येक वर्ष हुनुपर्नेमा उहाँले ७ सालदेखि गर्नुभएको थिएन ।’ उनले हाम्रो विराटनगरसँग भने,‘सुरुदेखि बेनीगोपालजीले एकलौटी गर्नुभएको हो । समितिमा एउटा व्यक्ति कति वर्षसम्म हुनुपर्छ र ? त्यसैले चेन्ज हुनुपर्छ र विधान बमोजिम त्यही गरेका हौँ ।’

अध्यक्ष झुनझुनवालाले मुण्डदाको काम गराई एकदमै राम्रो भएपनि एकै व्यक्तिले लामो समयसम्म समितिको नेतृत्व गर्न नहुने बताए । ‘पुरानो सचिव पनि अहिलेको समितिमा हुनुहुनुन्छ । बेनीगोपालजीको काम गराई राम्रो छ, नो दाउट । तर, एकजना मान्छे ८ वर्ष भएपछि चेन्ज हुनुपर्छ । अहिलेको सभामा पूर्वअध्यक्षहरु प्नि थिए र सर्वसम्मत समिति गठन भएको हो ।’

यता नयाँ भनिएका शमसान घाट कार्य सम्पादन समितिका सभापति मोहनलाल शर्माले आफु विधान बमोजिम चुनिएको दावी गरे । ‘विधान बाहिर गएर समिति बनेको होइन ।’ उनले हाम्रो विराटनगरसँग भने,‘अन्य कुरा मलाई पनि थाहा भएन ।’

उनले समिति समाजिक र सेवामुलक भएको बताउँदै आफु गलत तरिकाले समितिमा नआएको बताए । ‘यहाँ कुनै कमाई गर्ने ठाउँ होइन, सेवामुलक संस्था हो । यसमा आफ्नै पैसा खर्च गर्नुपर्छ ।’ उनले भने,‘गलत तरिकाले समितिमा आएको होइन । प्रश्न उठेको भए क्लीयर हुनु राम्रो कुरा हो । मलाई पुरा थाहा छ, समिति गठन विधान बमोजिम भएको छ ।’

त्यसो त मारवाडी सेवा समितिमाथि सोही समुदायका युवाहरुले प्रश्न उठाउँदै आएका छन् । मारवाडी सेवा समितिले मनोमानी ढंगले काम गर्ने गरेको बताउँदै आएका छन् । मारवाडी सेवा समितिमा युवाहरुलाई पाखा लगाएर प्रौढहरुले मात्र नेतृत्व गर्दै आएको भन्दै युवाहरुले नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले युवाहरुको नेतृत्वमा मारवाडी सेवा समिति गठन हुनुपर्ने बताएका छन् । हाम्रो बिराटनगरबाट

कमेन्ट गर्नुहोस्
error: Content is protected !!