४४१३ पटक हेरिएको
रंगेली।माेरङको रंगेली नगरपालिका ७ स्थित रंगेली अस्पतालमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाले ओपीडीमा उपचार गराउन आउने बिरामी तथा कुरुवाहरूको लागि ३ थान थ्री सिट भएको कुर्सी प्रदान गरेको छ। संस्थाले एक विशेष कार्यक्रमको आयोजना गर्दै अस्पतालका मेसु बसन्त कुमार साह, अध्यक्ष देवमणि कटुवाल, सद्भावका अध्यक्ष कमलेश्वर ठाकुर, श्री प्रसाद ठाकुर लगायतको सहभागितामा अस्पताल प्रशासनलाई ५० हजार रुपैयाँ बराबरको कुर्सी हस्तान्तरण गरेको हो।
सद्भाव बचत तथा ऋण सहकारी संस्थाले विगतका वर्षहरूमा पनि अति विपन्न तथा गरिब परिवारहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको छ। साथै, विभिन्न सामाजिक संस्थाहरूसँग मिलेर समाजसेवाका कामहरूमा सक्रिय रहँदै आएको छ। संस्थाका अध्यक्ष कमलेश्वर ठाकुरका अनुसार, उनीहरू आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
अस्पतालका अध्यक्ष देवमणि कटुवालका अनुसार, सद्भाव बचतले विगतका वर्षहरूमा कोरोनाको महामारीका बेला र अन्य समयमा समेत अस्पताललाई विभिन्न सहयोग गर्दै आएको छ। उनले आगामी दिनमा पनि यस्तो सहयोगको अपेक्षा राखेका छन्। यो कार्यक्रमले बिरामी र कुरुवाहरूको असुविधा हटाउन मद्दत पुग्ने विश्वास गरिएको छ र यसले सामाजिक संस्थाहरूको महत्वपूर्ण भूमिकालाई उजागर गरेको छ।