१६९३ पटक हेरिएको
बिराटनगर ।आज देशभर साउन १५ को अवसरमा परम्पराअनुसार खिर खाएर मनाइएको छ। असार १५ मा दहीचिउरा जस्तै, साउन १५ मा खिर खाने चलन नेपालमा प्राचीन कालदेखि चल्दै आएको छ।
विशेषगरी साउने झरीमा तातो खिर खाँदा स्वास्थ्यलाई राम्रो गर्ने जनविश्वासका कारण यो चलन चलेको मानिन्छ। दूधमा मरमसला, काजु, चिनीजस्ता विभिन्न सामग्री मिसाएर बनाइने खिरले स्वास्थ्यलाई फाइदा गर्ने विश्वास रहेको छ।
साउन महिना खेतीपाती सकिने र वातावरण हरियाली हुने समय हो। यसलाई भगवान शिवको महिना मानिन्छ र उहाँलाई मन पर्ने दूधजन्य पदार्थ चढाउने चलन छ। संस्कृतिविद्हरूका अनुसार साउनको मध्यतिर खिर खाने प्रचलन यसैसँग जोडिएको हुन सक्छ।
ऋषिमुनिको पालादेखि नै पितृलगायत अन्य कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई खिर खुवाउने चलन थियो। अहिले पनि सनातन धर्मावलम्बीले गाईको दूधको खिर बनाएर श्राद्धको दिन चढाउने गर्छन्। धार्मिक विश्वासअनुसार खिर देवतालाई चढाएपछि मात्र खानुपर्छ।