मोरङमा कृत्रिम बाढीको अभ्यास

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, साउन १६, २०८१

१३९१  पटक हेरिएको

मोरङको जहदा गाउँपालिका–४ रामचोकस्थित लोहान्द्रा खोलामा मंगलबार आयोजित एक कार्यक्रममा कृत्रिम बाढीको अवस्थामा उद्धार कार्यको अभ्यास गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीलगायत सरोकारवाला निकायहरूको संयुक्त आयोजनामा भएको यस अभ्यासमा खोलामा बगेका व्यक्तिहरूलाई कसरी उद्धार गर्ने भन्ने विषयमा व्यापक अभ्यास गरिएको थियो।

अभ्यासका क्रममा उद्धारकर्मीहरूले रबर बोटको प्रयोग गरी बाढीको भेलमा बगेका व्यक्तिहरूलाई उद्धार गर्ने विधि प्रदर्शन गरेका थिए। घाइतेलाई स्ट्रेचरमा राखेर तत्कालै अस्पताल पुर्‍याउने अभ्यास पनि गरिएको थियो। यस प्रकारको अभ्यासले वास्तविक विपद्को अवस्थामा जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्रप्रसाद साहले बताए।

जिल्ला विपद् व्यवस्थापन समिति, मोरङको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको यस अभ्यासमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, नेपाली सेनाका प्रमुख सेनानी अशिम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!