१५९७ पटक हेरिएको
सन् २०२० मा स्थापित नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले युरोपमा रहेका नेपालीलाई जोड्न विभिन्न गतिविधि गर्दै आएको छ । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले संघले विभिन्न अवसर पारेर युरोपमा रहेका नेपालीलाई भेला गरेर विविध कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष दिलकुमार घमालले बताए ।
संघले हालै वनभोज र संघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ । अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकमा आयोजित कार्यक्रममा संघका अध्यक्ष घमालले पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्थापित संघले नेपाली राष्ट्रिय खेलका रुपमा रहेको भलिबलको युरोपमा विकास र प्रवद्र्धन गर्दै आएको छ । संघले युरोपका विभिन्न मुलुकमा हुने भलिबल प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ ।
वनभोजसहित प्रमाणपत्र वितरण समारोहमा अष्ट्रियामा लामो समयदेखि विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेपालका विभिन्न जातीय पहिचान झल्कने सांस्कृतिक गीत र नृत्यसमेत प्रस्तुत गरिएको अध्यक्ष घमालले जानकारी दिए । संघले आगामी अक्टोबर २७ तारिखमा आयोजना गर्ने भलिबल प्रतियोगिताको तयारीका विषयमा समेत छलफल भएको थियो ।