कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण कार्य तीव्र, चैतभित्र पहिलो चरण सम्पन्न हुने

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, भाद्र १३, २०८१

२३४६  पटक हेरिएको

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको कोशी गाउँपालिकामा निर्माणाधीन कोशी रिफ्रेसमेन्ट सेन्टर परियोजनाको अनुगमन गर्दै पहिलो चरणको काम चैत महिनाभित्रै सम्पन्न हुने बताउनुभएको छ ।

कोशी प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको यस परियोजनाको पहिलो चरणको काम तीव्र गतिमा भइरहेको छ । २२ विगाहा १२ कठ्ठा क्षेत्रफलमा फैलिएको यस सेन्टरमा १ सय ७५ वटा बस पार्क गर्ने क्षमताको पार्किङ स्थल, पेट्रोल पम्प, चालकहरुका लागि विश्रामस्थल, स्विमिंग पुल, प्रहरी चौकी, स्वास्थ्य चौकी, रेस्टूरेन्टलगायतका सुविधाहरु समावेश हुनेछन् ।

मुख्यमन्त्री कार्कीले स्थानीयवासीको सहयोगका कारण परियोजनाको काम सहज रुपमा अगाडि बढिरहेको बताउँदै दोस्रो चरणको काममा पनि स्थानीयवासीको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले सबैको साथ सहयोग रहेमा परियोजनाका सम्पूर्ण काम तीन वर्षभित्रै पूरा गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

परियोजनाको पहिलो चरणका लागि ५७ करोड ९८ लाख रुपैयाँ लागत अनुमान गरिएको भए पनि ३० करोड ४३ लाखमा सम्झौता भएको छ । सम्पूर्ण परियोजनाका लागि २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

अनुगमनका क्रममा कोशी प्रदेशका पूर्वमन्त्री जगदिशप्रसाद कुसियैतले परियोजनाका विषयमा र स्थानीयवासीका समस्याहरुका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।

अनुगमन टोलीमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना, प्रदेश प्रमुख सचिव केदारनाथ शर्मा, सचिव अशोक साह तथा सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!