१४०६ पटक हेरिएको
पोखरा। कवि नन्दलाल बरालको पुस्तक मनका तरङ्ग भाग ३ लोकार्पण गरिएको छ । स्रष्टा समाज पुम्दीभुम्दीको आयोजनामा कवि बरालद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो ।
सिएड अध्ययन गरेका बराल बाल्यकालमै कविता कोर्न थालेका थिए ।
विद्यालयमा शुक्रबारे कार्यक्रम सञ्चालन हुँदै गर्दा साहित्यिक कार्यक्रममा भाग लिदैँ अघि बढेका उनले केही समय गाह्रो लागेर लेख्न छोडेका पनि थिए । तर, २०५७ साल पछिका कविताहरु भने उनल संकलन गरि राखेका छन् । उनको पहिलो संकलित कविता मानव मूर्ति दानव हो । त्यो भन्दा अघिका कविताहरु संकलित नरहेको उनले सुनाए ।
‘छोरेपाटन माविमा २०६० पछि होला, प्रत्येक महिनाको तेश्रो साताको शुक्रबार साहित्यिक कार्यक्रम हुन्थ्यो, मैले पनि साहित्यिक कार्यक्रममा भाग लिने गर्दथेँ’ उनले भने, ‘त्यसबेला त्रैमासिक पत्रिका प्रकाशन गरिन्थ्यो र त्यो पत्रिकामा मेरा पनि कविता प्रकाशित हुने गर्दथे । जसले मलाई कविता लेख्ने हौसला थपेको थियो ।’
उनले मोबाइलमा गजल र मुक्तक कोर्दै जाँदा नेपाली साहित्य सुधाका एडमीन गोमा ढकाल (सिटौला) उनको गजल र मुक्तकहरु सच्याउँदै सिकाउँदै आएको उनी सुनाउछन । त्यहाँबाट गजल र मुक्तकको यात्रा सुरु भएको उनको भनाई छ । त्यो समय लेखेका गजल र मुक्तकहरू मनका तरङ्ग भाग २ मा केही प्रकाशित भैसकेका छन र बाँकी रहेका गजल र मुक्तकहरू मनका तरङ्ग भाग ३ प्रकाशित छन् ।
पोखरा महानगरपालिका २२ पुम्दीभुम्दी स्थित महिला विकास सहकारी संस्थाको सभाहलमा संस्थाका अध्यक्ष गोविन्दप्रसाद बरालको अध्यक्षता भएको कार्यक्रममा छन्दनायक माधव वियोगी, पोखरा महानगरपालिका २२ का वडा अध्यक्ष हिमलाल बराल, छन्दवाचक शिव त्रिपाठी, महाकाव्यकार चन्द्रमणी अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकारहरु नवराज बराल ‘निशान्त’ र भीमनाथ बराल, नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञासभा सदस्य साहित्यकार नारायण मरासिनी लगायत विभिन्न साहित्यीक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।