ग्राथान गाउँपालिका अध्यक्षमा १७ को दौड

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, मंसिर ०२, २०८१

८२३  पटक हेरिएको

बिराटनगर।ग्राथान गाउँपालिकाको आसन्न स्थानीय उपनिर्वाचनमा अध्यक्ष पदका लागि १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भव्य जुलुससहित पुगेर दलका नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेसबाट बलराम सरदार थारू, एमालेबाट तुलसीराम विश्वास, माओवादी केन्द्रबाट नमोनारायण माझीलगायत नागरिक उन्मुक्ति पार्टी, रास्वपा, राप्रपा, जनमत, स्वतन्त्रलगायतका दलबाट गरी १६ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।

कांग्रेसका उम्मेदवार बलराम सरदार थारूको उम्मेदवारीमा ग्राथान–५ का धिरेन्द्र विश्वासले प्रस्ताव गरेका थिए भने समर्थकमा ग्राथान–२ का गणेश लुइँटेल रहेका थिए। उम्मेदवारी दर्तासँगै ग्राथान चुनावी माहोलमा तातिएको छ। यो उपनिर्वाचनमा अब अड्कलबाजी पनि सुरु भएको छ।

विशेषगरी मुख्य तीन दल (एमाले, कांग्रेस, माओवादी)बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। तर ग्राथान गाउँपालिका नै नेपाली कांग्रेसको प्रभावमा रहेको हुँदा अन्य दललाई कांग्रेसको वर्चस्व तोड्न धेरै मेहनत गर्नुपर्ने देखिएको छ।

विगतमा नेपाली कांग्रेसभित्र हुने गरेका आन्तरिक कलह र विद्रोहले अरु पार्टीले फाइदा लिँदै विजय हासिल गरेको देखिए पनि यस पटक नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सर्वसम्मतिले चयन गरेपछि उसको विजय सुनिश्चित जस्तो आजको उम्मेदवारीको झलकमा देखिएको छ।

सडक छेउका चिया पसल र गाउँका सानातिना गफहरूमा चुनावी चर्चाका कुराहरूले महत्व पाउन थालेको देखिन्छ। चौक–चौकमा विभिन्न पार्टीका झन्डा, तुल र ब्यानर प्रयोग गरेर उम्मेदवारहरूले प्रचार गरेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन्।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!