८०८ पटक हेरिएको
काठमाडौं। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा मिथिला नगरपालिका-९ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१० बस्ने ४१ वर्षीय रविन कोइराला, धादिङ सिद्धलेक गाउँपालिका- ७ आदमटार घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३६ वर्षीय पदम बहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका-३ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ कपन बस्ने ४१ वर्षीय कार्त्तिक लाल राजवंशी रहेका छन् ।
पक्राउ मध्ये रविनले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, पदमले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र कार्त्तिकले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ७० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रविनलाई काठमाडौं काँडाघारीबाट र पदमलाई काठमाडौं नयाँबजारबाट आइतबार तथा कार्त्तिकलाई काठमाडौं दरबारमार्गबाट सोमबार पक्राउगरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।