३००९ पटक हेरिएको
वीरगंज । बाराको परवानीपुर गाउँपालिकाले आफ्नो कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले एउटा सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालयको राष्ट्रिय परिचयपत्र, प्रशासन, योजना, पञ्जीकरण दर्ता, चलानी शाखा र वडा नम्बर १ देखि ५ सम्मका कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुने जनाएका छन् ।
कार्यालयले असोज १८ गतेदेखि हप्ताको २ दिन आइतबार र सोमबार बिहान ७ बजे देखि १० बजेसम्म र १० बजे देखि ५ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन हुने रौनियारले जानकारी दिए ।
दिउँसोको समयमा अन्यत्र काम गर्ने सेवाग्राहीहरूलाई छुट्टी लिएर आउनुपर्ने बाध्यता अन्त्य गर्दै दुई दिनका लागि भए पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न थालिएको रौनियारद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो गर्दा दिउँसो अफिसमा काम गर्नेहरूलाई सहज भएको छ,’ उनले भने, ‘सेवाग्राहीहरूको सबै काम पनि हुन्छ र उहाँहरूलाई आफ्नो अफिसबाट छुट्टी पनि लिनु पर्दैन ।’
दुई सिफ्टको सेवा दैनिक ज्यालादारी, मजदुरी र उद्योगमा कामदारका रूपमा काम गर्नेहरूलाई पनि फलदायी भएको उनको दाबी छ । यसरी उहाँहरू बिहान कार्यालयमा सेवा लिएर दिउँसो आफ्नो काममा जान सक्ने भएकोले हाल कार्यालयमा सेवाग्राहीको चाँप घटेको रौनियारले बताए ।