गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रम

Logo
स्थानिय आवाज प्रकाशित आइतबार, मंसिर २३, २०८१

६२१  पटक हेरिएको

इटहरी।गजलकार कृष्ण काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि विमर्श तथा गजल वाचन कार्यक्रमको आयोजना गरिएको छ । क्यानभास साहित्य समाजको आयोजना तथा मासङ्गीत साधना प्रतिष्ठान नेपालको सहकार्यमा शनिबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा काश्यपको गजल सङ्ग्रह ‘सराब’माथि गजलकार तथा कवि टीका आत्रेय र सुरेश सुवेदीले टिप्पणी राखेका थिए ।आत्रेयले गजललाई शील्पमा ढाल्ने काम गरिनु सबल पक्ष रहेको बताइन् । ‘विषय विविधताका दृष्टिकोणमा कलात्मक गजल छन्,’ आत्रेयले भनिन्, ‘गजल लेख्दा पनि अनुभूति हुनुपर्दोरहेछ । यो सङ्ग्रहमा पनि अनुभूतिसहित लेखिएको छ ।

अर्का वक्ता सुवेदीले गजल सिद्धान्तभित्र रहेर लेखिनुपर्ने भएकाले पनि यसमा थुप्रै विवाद रहेको बताए । ‘ती विवादतिर नजाऔँ, तर हामी क्रमशः सुधारिनुपर्छ,’ उनले भने, ‘गजल संरचनाको विधा चैँ हो ।’ उनले काश्यपका गजल सङ्ग्रहभित्र लयात्मक गजल रहेको बताए ।

‘हामी बच्चादेखि नै लयसँग खेल्दै आएका हौँ । हामीलाई आमाले सुत् भन्नुभएन, गीत गाएरै सुताउनुभयो,’ सुवेदीले भने, ‘खाना खाँदा होस् वा फकाउँदा आमाले लयमै गीत गाउनुभयो । हामी सङ्गीतमा खाना खाएर आएका हौँ, त्यसैले अवचेतन मनमा कहीँ न कहीँ लय आउँछ ।

गजलकार काश्यपले भने आफ्नो उक्त पुस्तक दोस्रो कृति रहेकाले जुनसुकै प्रतिक्रिया पनि स्वीकार्य रहेको बताए । आफ्नो लागि ध्यान गर्नु र गजल लेख्नु उस्तै रहेको उनले बताए ।काश्यपले भने, ‘विगतमा हामीले वैचारिक आन्दोलन नै जस्तो गरेर आएका हौँ । गजल किन र के का लागि लेखेँ भन्दा पनि महत्वपूर्ण कुरा त गजल लेख्नु नै मेरो लागि उपलब्धि हो ।’कवि बद्री भिखारीको सभाध्यक्षमा भएको कार्यक्रमको दोस्रो चरणमा गजल वाचन राखिएको थियो । गजलकारद्धय राज भट्टराई र बबिता भुजेलले चार–चार वटा गजल वाचन गरे । सुनसरीको इनरुवा निवासी भट्टराई र खोटाङ घर भई मोरङको बूढीगंगा बस्दै आएकी भुजेलले गजल वाचन गरेका हुन् ।

कार्यक्रममा वक्ता र गजलकारहरूलाई कवि भिखारीसहित देवान किराती, सुदीप पाख्रिन र सुविद गुरागाईँले मायाको चिनो प्रदान गरेका थिए ।सुमन रेग्मीले स्वागत मंतव्य राखेको कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लासहित मधेस प्रदेशका सर्लाही र बागमती प्रदेशको चितवनबाटसमेत स्रष्टाहरू सहभागी भएको संस्थाका अध्यक्ष भरत दाहालले बताए ।क्यानभास साहित्य समाजले १० वर्षयता विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको सचिव विवेक विवश रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!