९२६ पटक हेरिएको
पथरीशनिश्चरे ।लामो समयदेखि खोजी र लेखन कार्यमा संलग्न पथरीशनिश्चरेका दिपेन्द्रराज तिमल्सिना झापाको गौरादहमा सम्मानित भएका छन् ।झापाको गौरादह गाउँपालिकामा रहेको नेपाल उत्पीडित जातीय मुक्ति समाजले खोजकर्ता तथा लेखक दीपेन्द्रराज तिम्सिनालाई शनिबार सम्मान गरेको हो । समाजको तेस्रो नगर अधिवेशनको अवसरमा प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव तथा जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले दिपेन्द्रलाई सम्मान गरेका हुन्।
समाजका नगर सचिव रोहित सेन्चुरीका अनुसार तिम्सिनाले पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीबारे गहिरो खोज अनुसन्धान गरी नेपालमै पहिलोपटक “गुमनाम एक इतिहास: बिसे नगर्ची” पुस्तक प्रकाशन गरेका कारण उनलाई सम्मान गरिएको हो ।
दलित समुदायको गौरवमय इतिहासलाई उजागर गर्न खोज र लेखनमा सक्रिय तिम्सिनाको योगदान राज्यका लागि ऐतिहासिक दस्तावेजको रूपमा रहेको भन्दै प्रशंसा गरिएको छ । उक्त पुस्तकको हाल दोस्रो संस्करण वितरणमा रहेको छ । कार्यक्रममा अन्तरजातीय विवाह गर्ने दलित जोडीहरूलाई समेत सम्मान गरिएको थियो।