खाजा खर्च कटाएर डन बस्को स्कुलका विद्यार्थीले गरे सहयोग

Logo
स्थानिय आवाज प्रकाशित बुधबार, मंसिर २६, २०८१

१६६१  पटक हेरिएको

सुनवर्षी । सुनवर्षी २ स्थित डन बस्को स्कुलका विद्यार्थीहरुले खाजा खर्च कटाएर क्यान्सर पिडित खेलाडी कमला श्रेष्ठलाई आर्थिक सहयोग गरेका छन् ।

क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी सुनवर्षी नगरपालिकाको वडा नं १ , केचना निवासी महिला फुटबल खेलाडी कमला श्रेष्ठको घरमै पुगेर डन बस्को स्कुलका विद्यार्थीहरुले (आज) बुधबार नगद रु ४६ हजार ६ सय ५० रुपैयाँ हस्तान्तरण गरेका हुन ।

केचना महिला फुटबल क्लबकी कप्तान समेत रहेकी श्रेष्ठ पाठेघरको क्यान्सरसंग लडिरहेको थाहा पाएर एक साता अघि सोही विद्यालयका निर्देशक किरण थापाले नगद रु ११ हजार आर्थिक सहायता प्रदान गरेका थिए । थापाले स्कुलको तर्फबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका थिए । सोही बमोजिम स्कुलले शिक्षक कर्मचारीको तर्फबाट रु ९ हजार ३ सय ६५ र विद्यार्थीहरुको तर्फबाट रु ३७ हजार २ सय ८५ रुपैयाँ बिरामी कमला श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

विद्यार्थीहरुले स्वस्फूर्त रूपमा आफ्नो खाजा खर्च कटाएर बिरामीको उपचारका लागि सहयोग गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित विद्यार्थीहरुले बताएका थिए । कार्यक्रममा स्थानीय समाजसेवीहरु ज्ञान बहादुर बस्नेत , गोविन्द लिम्बू , स्कुलका संयोजक हरिकुमार गिरि , शिक्षकहरु ललित विष्ट र दक्षिणा भट्टराई सहित विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरु उपस्थित भएका थिए ।

पथरीशनिश्चरे र सुनवर्षी नगरपालिकामा गुणस्तरीय शिक्षा संगै सामाजिक गतिविधिमा सक्रिय डन बस्को स्कुलले विगत लामो समयदेखी स्थानीय स्तरमा सामाजिक कार्यहरु गर्दै आएको छ । स्कुलले हालै सुनवर्षी नगरपालिकाको वडा नं २ म आगलागी पीडित सुनामडी सोरेन र देवा हस्दाको परिवारलाई नगद रु ३४ हजार सहायता प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!