६११ पटक हेरिएको
विराटनगर।अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा विराटनगर महानगरपालिकाले सरोकारवालाहरुसित अन्तरक्रिया आयोजना गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने गरेको छ ।
महानगरले वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र वैदेशिक रोजगारीका क्षेत्रमा कार्य गरिरहेका संस्थाहरुको सहभागितामा अन्तरक्रिया गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले महत्वपूर्ण भूमिका योगदान गरेको बताउनुभयो ।
उहाँले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको श्रमशक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम परिचालन गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीका नाम हुने ठगी रोक्न रोजगारीमा जाने व्यक्तिहरु आफैं सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सामीको मोरङ जिल्ला कार्यक्रम संयोजक दीपक राउतले वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको विचार व्यक्त गर्नुभयो । उहाँले गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलगायतले आप्रवासनमा वृद्धि हुँदै गएको बताउनुभयो । राउतका अनुसार अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओइम)ले प्रकाशित गरेको आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव १ करोड मानिस आप्रवासीका रुपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ दशमलव ९ करोड छ ।
हेल्भेटास नेपालका कार्यक्रम अधिकृत देवनारायण चौधरीले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानुनमा परिमार्जन गर्नु जरुरी रहेको बताउनुभयो । आप्रवासी स्रोत केन्द्र मोरङको परामर्शकर्ता मुना निरौलाले वैदेशिक रोजगारीका क्रममा ठगिएका व्यक्तिहरुलाई कानुनी सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले वैदेशिक रोजगारले नेपाली अर्थतन्त्रमा योगदान पु¥याए पनि त्यसबाट आर्थिक, सामाजिक र पारिवारिक समस्या बढ्दै गएको उल्लेख गर्नुभयो । यस वर्ष ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार’ नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक समाज, आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना भइरहेका छन् ।