सिराहामा महायज्ञको नाममा दलित परिवारको घर भत्काईएको भन्दै अमरेशले भने : तीनै जना दोषीलाई पक्राउ गरियोस

Logo
स्थानिय आवाज प्रकाशित बिहिबार, चैत्र ०६, २०८१

७७५  पटक हेरिएको

काठमाडौं।स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको घटनामा कडा आपत्ति जनाएका छन्। उनले सरकारलाई तत्काल दोषीलाई कारबाही गर्न माग गर्दै, यदि कारबाही नभए यो सरकार दलितविरोधी रहेको पुष्टि हुने चेतावनी दिएका छन्।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सिंहले चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर डोजर लगाएर भत्काइएको र पीडित परिवारलाई विस्थापित गरिएको जानकारी गराए। उनले दलित र महिलामाथि अत्याचारको श्रृंखला बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद सिंहले महायज्ञका बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव तीनै जनालाई दोषी ठहर गर्दै अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरे। उनले भने, “यी तीनै जनालाई अविलम्ब पक्राउ गरिनुपर्छ। यदि सरकारले यस घटनामा तत्काल कारबाही गरेन भने यो सरकार दलितविरोधी रहेको पुष्टि हुनेछ।”

यस घटनाले दलित समुदायमा त्रास फैलिएको र उनीहरुको सुरक्षामा गम्भीर प्रश्न उठेको सांसद सिंहले बताए। उनले सरकारलाई तत्काल यस घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरे।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!