डा. दिलीपकुमार यादव जेएनएचआरसी उत्कृष्ट अनुसन्धानपत्र पुरस्कारबाट सम्मानित

Logo
स्थानिय आवाज प्रकाशित सोमबार, बैशाख ०८, २०८२

१६९७  पटक हेरिएको

बिराटनगर।नेपाल जनस्वास्थ्य संघ (नेफा) का आजीवन सदस्य तथा केन्द्रीय समितिका वर्तमान सदस्य, साथै विराटनगर महानगरपालिकामा कार्यरत डा. दिलीपकुमार यादव नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) द्वारा आयोजित “११औँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन” मा प्रस्तुत गर्नुभएको अनुसन्धानपत्र “मातृ तथा नवजात शिशुका कारक तत्वहरू र नवजात शिशु मृत्युदरबीचको सम्बन्ध: नेपालका चुनिएका अस्पतालहरूमा गरिएको भावी अनुगमन अध्ययन” लाई “जेएनएचआरसी उत्कृष्ट अनुसन्धानपत्र पुरस्कार २०२४” बाट सम्मानित गरिएको छ।

गिरिजा शंकर सुक्ला, मीना गुप्ता, नवीन श्रेष्ठ, जितेन्द्र कुमार सिंह, हरी काफ्ले, प्रतिमा यादव र दिपेन्द्र कुमार यादवको टिमवर्कबाट उनले यो अवार्ड प्राप्त गरेका हुन्। उक्त अनुसन्धानले नेपालमा नवजात शिशु मृत्युदरसँग सम्बन्धित मातृ तथा नवजात शिशुका कारक तत्वहरूलाई वैज्ञानिक ढंगले विश्लेषण गर्दै महत्त्वपूर्ण तथ्यहरू उजागर गरेको छ। यसले नवजात मृत्युदर न्यूनीकरणका लागि नीतिगत निर्णय र कार्यक्रम निर्माणमा मार्गदर्शन गर्ने विश्वास गरिएको छ।

डा. यादवलाई प्राप्त यो पुरस्कारले नेपाली जनस्वास्थ्य अनुसन्धानको क्षेत्रमा थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। उहाँको निरन्तर अनुसन्धान, समर्पण र योगदानले नेपाली समाजमा महत्त्वपूर्ण प्रभाव पारिरहेको छ।नेपाल जनस्वास्थ्य संघले डा. यादवलाई यो महत्त्वपूर्ण उपलब्धिको लागि हार्दिक बधाई तथा आगामी दिनमा अझ उपलब्धिमूलक अनुसन्धान कार्यहरूका लागि सफलताको शुभकामना व्यक्त गरेको छ।

कमेन्ट गर्नुहोस्
error: Content is protected !!